इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने तयारी भइसकेको बताएका छन् । आज (शुक्रबार) सुनसरी स्थित इनरूवा नगरपालिका तथा भोक्राहा नरसिंह गाउँपालिका भौगोलिक क्षेत्रमा निर्मित सबस्टेशनको उद्घाटन गर्दै उनले घर र बस्तीमा बत्ती बाल्न मात्र नभई देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ उत्साहजनक कामहरू भइरहेको बताए ।

‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ,’ उनले भने, ‘घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन् ।’प्रधानमन्त्री प्रचण्डले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्तगरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको स्मरण गरे । उनले देशभित्र उत्पादित विद्युत् यही खपत गर्न सरकारले केही दिन अघिमात्र विद्युत् खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषबाट पारित गरेको स्पष्ट पारे । यसले विद्युत् खपत बढाउन ठूलो दिशानिर्देश गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका शहर–शहर र गाउँगाउँमा पुर्‍याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताए । ‘वर्षको वर्षायाममा देशभित्र खपतगरी बचत भएको विद्युत् भारतर्फ निर्यातगरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो । नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिक रूपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युत्को अपार सम्भावना रहेको हाम्रो देशलाई ठूलो फाइदा पुग्नेछ । यसतर्फ हामीले विशेष ध्यान दिनु पर्दछ ।’

तपाईको प्रतिक्रिया

trusted online casino malaysia