इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ४ मा नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नं. ४ को धनपुरीमा रहेको वडा कार्यालय र आधारभुत स्वास्थ्य कार्यालयको प्राङ्गनमा एक दिने उक्त आँखा जाँच शिविर सम्पन्न भएको हो।
रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगरको समन्वय र सहकार्यमा सम्पन्न भएको उक्त शिविरमा जम्मा १२० जना आँखाका बिरामीहरुले सेवा लिएका छन्। जसमध्ये ३५ जना मोतियाविन्दुको पहिचान भएकाहरुलाई शल्यक्रियाकालागि आज नै रामलाल गोल्छा आँखा अस्पताल बिराटनगर अस्पताल लगिएको बराहक्षेत्र नगरपालिका कार्यक्रम अधिकृत अरुण कुमार मेहताले इनरुवा अनलाइनलाई जनाकारी दिनुभएको हो।
अधिकृत मेहताका अनुसार चेकजाँचको क्रममा उच्च रक्तचाँप, मधुमेह र मुटुको समस्या देखिएका बिरामीहरुलाई शल्यक्रियाकालागि दोस्रो चरणमा लगिने बताउनु भयो। शिविरमा बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्द कुमारी सुनुवार, वडा नं. ४ का अध्यक्ष आशाराम चौधरी तथा वडा सदस्यहरुको उपस्तिथि रहेको थियो भने आँखा जाँच शिविरमा रामलाल गोल्छा आँखा अस्पतालका पाँच जना विज्ञको टोलीले सेवा दिनुभएको हो। उक्त आँखा जाँच शिविर बराहक्षेत्र नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो।