काठमाडौं । घरको ऋणको बोझबाट मुक्ति खोज्न कोरिया जाने कोशिसमा रहेका दैलेख महाबु गाउँपालिका २३ वर्षे सुजन राउतको ललितपुरको बालकुमारी घटनामा कहिले नउठ्ने गरी ढले ।बालकुमारीमा भएको झडपमा गम्भिर घाइते भएका उनको ललितपुरको किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सुजनसँगै उनको ‘कोरिया सपना’ मात्रै ढलेन, घरमा ‘विधवा आमा’ नन्दाको आशा निभेको छ, बुढेसकालको सहारा समेत ढलेको छ । दुई भाइबहिनी बेसहारा बनेका छन् । बालकुमारीमा भएको कोरियन भाषा परीक्षा (इपीएस) का परीक्षार्थीसँगै आन्दोलनमा सहभागी भएका सुजन प्रहरीको लाठ्ठी लागेर गम्भिर घाइते भएका थिए । उनी दैलेख महाबु गाउँपालिका–६ रानिवनका बुवा भक्तबहादुर राउत र आमा नन्दकुमारी कटुवाल राउतका जेठा छोरा हुन् । उनी दुई महिनादेखि काठमाडौँ बसेर कोरिया भाषा परीक्ष (इपीएस) का लागि तयारी गरिरहेका थिए ।
गत वर्ष उनका बुबा ४५ वर्षीय भक्त राउत काम गर्दागर्दै अचानक ढले । तत्कालै जिल्ला अस्पताल लगियो । अस्पतालले मृत घोषणा गर्यो । उनी उच्च रक्तचाप (प्रेसर) ले ढलेका रहेछन् । केही बर्ष अगाडि दैलेख बजारमा भाडा व्यवसाय गर्दै आएका राउत परिवारको व्यवसाय राम्रै चलेको थियो । रावत उद्योग वाणिज्य संघ दैलेखको उपाध्यक्ष समेत भएका थिए । उनी दैलेख बजारमा एक सफल व्यवसायीका रुपमा परिचत थिए । पछि उनलाई ब्रेन ट्युमरका भयो । उनी बितेपछि श्रीमती नन्दाको टाउकोमा आइपुग्यो सबै घर व्यवहार ।
पतिको निधनले विक्षिप्त उनीसँग २१ वर्षीय जेठा छोराको आश गर्नु बाहेकको कुनै विकल्प थिएन । अर्काे कान्छा छोरा र छोरी सानै छन् । परिवारको दायित्व जेठा छोरा सुजनको थाप्लोमा सर्दै गयो । त्यसपछि उनी काठमाडौं आए । उनी कोरिया जान भाषा परीक्षा पढ्न थाले । उनको साथमा काकाका छोराहरु पनि आएका थिए । गाउँबाट ऋण काढेर काठमाडौं आएका उनको सपना विधवा आमालाई बुढेसकालमा खुशी दिनु थियो । साना भाइबहिनीलाई पढाउनु थियो । तर, उनी कोरिया जान पाएका थिएनन् । एक वर्ष भइसक्दा पनि भाषा परीक्षामा सहभागी हुन पाएका थिएनन् । भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै काठमाडौंमा आन्दोलन चल्यो । सोही क्रममा शुक्रबार उनी काठमाडौंको बालकुमारीमा भएको आन्दोलनमा सहभागी थिए ।
प्रहरीसँगको मुठभेडमा उनीमाथि लाठी बज्रियो । छातीमै लाठी प्रहार भएका उनको मृत्यु भयो । अब आमा र भाइबहिनीलाई खुशी दिन्छु भन्ने सुजन नै अब रहेनन् । काकाका छोराहरूले उनको मृत्युको खबर तत्काल महाबु पुर्याए । आफन्तलाई सुजनको मृत्युको खबर पत्याउन मुस्किल परिरहेको छ ।
वडा सदस्य पवित्रा कुमारी गिरीका अनुसार सुजन पढाइमा सानैदेखि जेहेन्दार थिए । उनी पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै रुचि राख्थे । अहिले उनको निधनको खबरले सिङ्गो गाउँ शोकमा डुबेको छ । वडासदस्य गिरी भन्छिन्, ‘श्रीमानको विछोडमा नन्दालाई यसै पनि सम्हालिन कठिन थियो । अहिले अचानक छोरा नरहनेको खबरले मुर्छित हुनुहुन्छ । गाउँमा रुवाबासी छ । भाइबहिनीको हालत उस्तै छ ।’








