काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका विषयमा राजनीतिक जालझेल गरी आफू र आफ्नो परिवारबारे नकारात्मक भ्रम फैलाइएको बताएका छन् । उनले २०५८ जेठ १९ को कहालीलाग्दो घटनालाई लिएर अहिलेसम्म पनि आफ्नो परिवारमाथि घातक प्रहार भइरहेको गुनासो गरे ।

आज (शनिबार) वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले भने, ‘सत्य सधैं सत्य हुन्छ । असत्यको विजय कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।’

शाहले देशको विकास र उत्थानका लागि आफै लाग्नुपर्ने पनि बताउँदै कोहि आएर विकास नगरिदिने बताए । उनले भने, ‘देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ – हामीमाथि आह्वान पनि छ । म भन्छु -हामी हाम्रा पुर्खाको पौरख नभुलौं, हामी, यही बसौं, यही आफ्नो जन्भभूमिका लागि मरिमेटौं । हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण–हामी आफैबाट हुने हो । अरुले आएर गरिदिने हैन ।’

अहिले हिमाल, पहाड र तराईं उजाड बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पूर्वराजा शाहले आफ्नो घर उजाड पारेर अरुको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने अब बेला नभएको उल्लेख गरे । उनले भने, ‘आफ्नो घर उजाड पारेर अरुको उन्नतीमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो । आफ्नो क्षमता, आफ्नै घरद्वार, आफ्नै गाउँबस्ती र आफ्नै बनाउनेतिर अब हामी लाग्नै पर्छ । यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ ।’

उनले देशमा अब निषेधको राजनीति गर्न नहुनेमा जोड दिए । ‘हामी भूगोल र भू बनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली । त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौं । हामी सबैको भलाइ यसैमा छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia