इटहरी । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज (बुधबार) बिहान धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीबाट त्रिशूली नदीमा खसेको छ । लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान करिब ५ बजे त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा अहिलेसम्म चार जनाको ज्यान गएको छ भने ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस (आदमघाट) बाट खटिएको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । यात्रुको उद्धारका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको डीएसपी थापाले जानकारी दिए ।
मृतक र घाइतेको पहिचान खुलेको छैन । दुर्घटनाको विस्तृत विवरण आइसकेको छैन । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








