काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसत्ता साझेदार नेपाली कांग्रेसले आफूलाई धोकाको आरोप लगाउन नमिल्ने दाबी गरेका छन्।
विश्वासको मत लिनुअघि आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई जवाफ दिएका हुन्। उनले आफूले लगाएका सबै गुन बिर्सिएर कांग्रेसले धोकेबाजको आरोप लगाउनु गलत भएको दाबी गरे।
बरु धोकाको आरोप अहिलेका सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाउन मिल्ने पनि उनले बताए। ‘यति छिट्टै सबै गुन बिर्सिएर धोका भन्ने! के हो धोका भनेको’, प्रधानमन्त्री प्रचण्डले भने, ‘धोकाको आरोप त बरु मलाई प्रधानमन्त्री बनाउने दल त त्यसको नेतृत्व गर्नुभएको माननीय केपी ओलीजीले लगाउन मिल्छ। कांग्रेसका साथीहरूले मिल्दैन।’
यसअघि पनि प्रचण्ड एमालेसहितकै गठबन्धनको समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री बनेका थिए। तर त्यो गठबन्धन राष्ट्रपति निर्वाचनका बेला फुट्यो।राष्ट्रपतिमा माओवादीले एमालेका उम्मेदवारलाई होइन, कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जितायो। यसपछि एमाले २०७९ फागुन १५ गते प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो।
अनि एकाएक गठबन्धन फेर्दै प्रधानमन्त्री प्रचण्डले २०७९ चैत १७ गते कांग्रेसलाई आफ्नो सरकारमा भित्र्याएका थिए।तर त्यसको १ वर्ष नपुग्दै कांग्रेसलाई ‘किकआउट’ गर्दै उनले यही फागुन २१ गते पुनः एमालेलाई सत्ता गठबन्धनमा सामेल गराएका हुन्।








