उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको छ।एक सातासम्म चल्ने स्पोर्टस मिटमा ३० बढी विद्यालय तथा उच्च शिक्षालयको सहभागिता रहने छ। फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरुमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकारी दिनुभयो ।

विगतका वर्षहरूमा हिसान सुनसरीमा आबद्ध शिक्षालयका बिद्यार्थीहरुको मात्र सहभागिता सुनिश्चित गरिएको हिसान रनमा यस पटक पब्लिक क्याटगोरी अन्तर्गत जो कोहीलाई खुला गरिएको संयोजक लुइँटेलले जानकारी दिए ।स्पोर्टस मिट अन्तर्गत फुटबल इटहरीको ताल तलैया स्थित बुढासुब्बा खेलमैदानमा हुनेछ भने ,क्रिकेट इटहरी ९ स्थित जनता क्रिकेट मैदानमा सञ्चालन गरिने बताइएको छ ।
भलिबल पूर्वाञ्चल मावि तरहरा इटहरीमा, बास्केटबल धरानस्थित सियोन स्कुलको कोर्टमा र एथलेटिक्सका इभेन्ट्सहरु इटहरी रङ्गशालामा खेलाइने हिसान सुनसरीले जनाएको छ । वक्तृत्वकला, कविता प्रतियोगिता, बुद्धिचाल, टेबल टेनिस, ब्याडमिन्टन र हाजिरी जवाफ प्रतियोगिता भने केही दिनअघि सम्पन्न भैसकेको संयोजक लुइँटेलले जानकारी दिएका छन्
सबै खेलका विजेता खेलाडीलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै समग्रमा विजेता शिक्षालयलाई च्याम्पियन ट्रफि र प्रमाणपत्र प्रदान गरिने जनाएको छ । रन, फुटबल र नृत्य प्रतियोगितामा भने नगद पुरस्कार समेत रहेको जानकारी दिनुभयो ।
विजेता र उपविजेतालाई क्रमश: ३० हजार र १५ हजार रुपियाँ पुरस्कार, विजेतालाई रनिङ ट्रफि, उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सुनसरी जिल्लाभरिका ८ सय विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने खेल उत्सवमा १५ हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने हिसान सुनसरीले जनाएको छ ।








