इनरुवा। कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले शुक्रबार सुनसरी बहुमुखी क्याम्पस इनरुवाको अनुगमन गर्नुभयो। अनुगमनका क्रममा क्याम्पसमा रहेका समस्या र तिनका समाधानका विषयमा क्याम्पस प्रशासनसँग विस्तृत छलफल भयो।
क्याम्पस हाताभित्र रहेको भौतिक संरचनाको अवस्था, सरसफाइ तथा स्तरीय शिक्षाको बारेमा मन्त्री मन्सुरीले गहिरो चासो व्यक्त गर्नुभयो। क्याम्पसको मुख्य प्रवेशद्वारमा दैनिक रूपमा लाग्ने तरकारीको थोक बजारले विद्यार्थीहरूको आवतजावतमा असहजता उत्पन्न गरेको पाइएपछि सरोकारवालाहरूसँगको समन्वयमा यथाशीघ्र सहज वातावरण बनाउन निर्देशन दिनुभयो।
साथै प्रवेशद्वारदेखि क्याम्पस हातासम्म रहेको ग्राभेल बाटोलाई स्तरोन्नति गर्नका लागि पहल गर्ने विषयमा उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री मन्सुरीको यस अनुगमनलाई क्याम्पस प्रशासन र विद्यार्थी दुवै पक्षले सकारात्मक रूपमा लिएका छन्।









