राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपीभी (ह्युमन पेपिलोमाभाइरस) खोप अभियान २०८१ माघ २८ गतेदेखि भोक्राहा नरसिंह गाउँपालिकामा सञ्चालन हुने भएको छ। गर्भाशय क्यान्सर जस्ता गम्भीर रोगको रोकथामका लागि आयोजना गरिएको यस अभियानले गाउँपालिकाका २६ सयभन्दा बढी बालिकालाई खोप लगाउने लक्ष्य लिएको छ।

गाउँ कार्यपालिका कार्यालयको आयोजनामा सञ्चालन हुन लागेको अभियानले कक्षा ६ देखि १० सम्मका विद्यालयमा अध्ययनरत बालिकाहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकाहरूलाई समेट्नेछ। जिल्ला स्वास्थ्य कार्यालय, सुनसरीका खोप शाखा प्रमुख अमोल चौधरीले बालिकाहरूको स्वास्थ्य सुरक्षाकालागि खोपको महत्त्वबारे जानकारी गराउँदै गर्भाशय क्यान्सर जस्ता रोगबाट बचाउन यो अभियान निर्णायक हुने विश्वास व्यक्त गरेका छन्।

अभियान सञ्चालन गर्न पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भइसकेको छ। गाउँपालिकाका सबै वडामा एकसाथ सञ्चालन हुने यस अभियानले विद्यालय र समुदायस्तरमै पुगेर बालिकाहरूलाई खोप लगाउने व्यवस्था मिलाएको छ।
समुदायका सबै अभिभावकलाई आफ्ना बालिकाहरूलाई खोप लगाउनका लागि सक्रिय सहभागीता जनाउन आयोजकले आग्रह गरेको छ। यो अभियानले बालिकाहरूको स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।








