भोक्राहा नरसिंह। आर्थिक वर्ष २०८२/०८३ का लागि ६० करोड ३६ लाख ५० हजारको बजेट गाउँ सभा मार्फत सार्वजनिक गरिएको छ। असार ८ गते आइतबार, गाउँ सभा हलमा आयोजित १८औं गाउँ सभा अधिवेशनमा गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले यो बजेट र वार्षिक नीति कार्यक्रम प्रस्तुत गरेका हुन्।

गाउँ सभामा बजेटका प्राथमिक क्षेत्रहरू शिक्षा, स्वास्थ्य, कृषि, भौतिक संरचना र सामाजिक समावेशीकरणलाई प्राथमिकता दिनको लागि उल्लेख गरिएको छ। अध्यक्ष अजादले भने, “कृषि पेसामा आधारित किसानहरुलाई कृषिकरणमा थप मदतका लागि कृषि मोटर बोडिङ्ग, निशुल्क स्वास्थ्य विमा, सडक तथा बाटोको कालोपत्र, मर्मत, महिलाको उद्यमशीलता र क्षमतामा अभिवृद्धि, जेष्ठ नागरिकलाई पहिलो प्राथमिकता र पोलबती जडान जस्ता नीतिहरूलाई निरन्तरता दिनेछौँ।”
गाउँ सभामा नेपाली कांग्रेसका स्थानीय नेता, वडा अध्यक्षहरू, कर्मचारी र पत्रकारहरूको उपस्थितिमा विभिन्न योजनाबारे चर्चा भएको थियो। वडा नम्बर १ का अध्यक्ष लक्ष्म मेहता, वडा नम्बर २ का आलम अन्सारी, वडा नम्बर ३ का धिरेन्द्र यादव लगायतका प्रतिनिधिहरूले गाउँपालिकाको बजेट र नीति कार्यक्रमको समर्थन गर्दै यसमा सुधारको आवश्यकता रहेको बताएका छन्।

यस अवसरमा उल्लेखनीय कार्यमा लगेका पत्रकार सुरेन्द्र मेहता र उत्कृष्ट ५ जना कर्मचारीलाई सम्मान गरिएको छ। मेहता, जो समाज परिवर्तनमा प्रभावकारी योगदान गर्दै आएका छन्, ले सम्मान प्राप्त गर्दा समग्र पत्रकारिता क्षेत्रलाई गौरवान्वित गरेको जनाइएको छ। यस सम्मानमा दोसल्ला ओढाइ, अबिरको टीका र सम्मान पत्र प्रदान गरिएको थियो।
गाउँपालिका उपाध्यक्ष सुनिता उराँवले भन्नुभयो, “सञ्चार क्षेत्रले समाजको चेतनामा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। हामी पत्रकार मेहतालाई सम्मान गर्दै संचार माध्यमद्वारा समाज र देशमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्न चाहन्छौं।”

गाउँ सभामा प्रस्तुत गरिएका योजनाहरूले ग्रामीण विकासमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ। आगामी दिनमा गाउँपालिका महासमिति र स्थानीय सरकारले मिलेर योजनाहरूलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।
यसरी, भोक्राहा नरसिंह गाउँपालिकाको १८औं गाउँ सभा आर्थिक र सामाजिक विकासका लागि दृढ कदमको सुरुवात गर्ने विश्वास व्यक्त गरिएको छ। एकजुट भएर काम गर्दा मात्र गाउँपालिकाले निर्धारित लक्ष्य हासिल गर्न सक्नेमा सबैको दृढ विश्वास छ।








