इनरुवा । सुनसरीको इनरुवा जिल्ला अस्पतालमा लामो समयदेखि खाली रहेका डाक्टर पदहरू पूर्ति भएका छन् । समितिको करार म्याद सकिएपछि खाली रहेका अर्थो र सर्जन सेवामा हाल प्रदेश सरकारको छात्रवृत्ति करारका डाक्टर नियुक्त भएपछि अस्पतालमा उपचार सेवा सहज हुने अपेक्षा गरिएको छ ।
अस्पताल स्रोतका अनुसार रिक्त स्थानमा यसअघि नै प्रदेश करारका डाक्टर ल्याउन पहल गरिएको थियो । तर, केही समूहको दबाबका कारण तत्काल ल्याउन नसकिएको हो । अर्थोपेडिक्स विभागमा पठाइएका एक जना डाक्टरले इनरुवा अस्पतालभन्दा माथिल्लो जिम्मेवारी पाएका कारण केही दिनमै फर्किनुपरेको थियो । यसबीचमा डाक्टर खाली हुँदा बिरामी उपचारविहीन बन्न थालेका थिए भने सामान्य उपचारका लागि समेत रेफर लिनुपर्ने बाध्यता बढेपछि आमनागरिक असन्तुष्ट बनेका थिए ।
यही परिस्थितिमा व्यवस्थापन समितिका अध्यक्ष राजन मेहताले केन्द्रीय स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्दै अस्पताललाई आवश्यक उपकरण, मेसिन तथा सामग्री जुटाउन पहल गर्नुभएको थियो । सोही पहलपछि हाल प्रदेश छात्रवृत्ति करार अन्तर्गतका नयाँ चिकित्सकहरू इनरुवा अस्पतालमा सेवामा खटिएका हुन् ।
नयाँ आएका डाक्टरहरूमध्ये डा. सुनिल जैसवाल चौधरी एमएस अर्थो र डा. रवि भुषण पण्डित एमएस जनरल सर्जन रहेका छन् । त्यसैगरी प्रदेश करारकै डा. कृष्णकुमार दास मेडिकल अफिसर, र डा. सुजन पुरी मेडिकल अफिसर समेत सेवामा खटिएका छन् ।
यस्तै, हालसालै परीक्षा उत्तीर्ण गरेका चार जना मेडिकल अफिसरले एक साताभित्र काम थाल्ने भएका छन्, जस मध्ये केहीले भने सेवा सुरु गरिसकेका छन् ।
अस्पतालका अनुसार नयाँ जनशक्ति आएपछि अब इनरुवा अस्पतालले यसअघि भन्दा बिस्तारित सेवा सञ्चालन गर्ने तयारी अघि बढाएको छ । साथै, आवश्यक जनशक्ति पदपूर्तिको प्रक्रिया पनि सुरु भइसकेको जनाइएको छ ।
डाक्टर अभावका कारण लामो समयदेखि उपचार सेवा प्रभावित हुँदै आएको इनरुवा जिल्ला अस्पतालमा नयाँ चिकित्सक आएपछि बिरामीलाई अब सहज र गुणस्तरीय सेवा उपलब्ध हुनेमा सरोकारवालाहरू आशावादी बनेका छन् ।








