इनरुवा। विगत केहि दिनदेखि इनरुवामा एउटा घटनाले व्यापक चर्चा पाएको छ। घटना हो इनरुवा–३ मा रहेको स्मल हेभेन एकेडेमीमा अध्यापन गराउँदै आएका शिक्षक हरेराम मिश्रको। उनीमाथि आफ्नै एक पूर्वविद्यार्थीलाई मोबाइलमार्फत अश्लील संदेशहरु पठाएको गम्भीर आरोप लागेको हो।

पीडित छात्रा विद्यार्थीका अनुसार शिक्षक मिश्रले उनको मोबाइलमा भिडियो कलमार्फत गोप्य अंग देखाउने र बेला–बेला फरक–फरक मोबाइल नम्बरहरुबाट मानसिक यातना दिने कार्य गर्दै आएका थिए।

पीडिताले यस विषयमा आफ्ना अभिभावक एवं साथीहरुलाई जानकारी गराएपछि उनका आफन्त र जेनजी पुस्ताका युवाहरु शिक्षक मिश्र अध्यापन गराउँदै गरेको विद्यालय स्मल हेभेन एकेडेमीमा पुगेका थिए। आक्रोशित युवाहरुले मिश्रमाथि हातपात समेत गरेका थिए भने केहीबेर विद्यालय परिसर नै कोलाहलमय बनेको थियो। तत्पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मिश्रलाई नियन्त्रणमा लिई प्रहरी कार्यालयमा राखेको थियो।

सो घटनाक्रमका कारण दिनभर जिल्ला प्रहरी कार्यालयमा पीडित र पिडक पक्षबीच दौडधुप भयो। प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेलगत्तै पीडित र पिडकबीच सामान्य रुपमा घटना मिलाइएको श्रोतको दाबी छ।

विद्यालयको विज्ञप्ति

घटनासँग प्रत्यक्ष सरोकार राख्ने स्मल हेभेन एकेडेमीले असोज ११ गते विज्ञप्ति जारी गर्दै मिश्रलाई अनुसन्धानकालागि प्रहरीमा जिम्मा लगाइएको र विद्यालयबाट समेत निष्कासन गरिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ — शिक्षक हरेराम मिश्रले पूर्वविद्यार्थीसँग गरेको अमानवीय डिजिटल संवादका कारण उत्पन्न अवस्थालाई मध्यनजर गर्दै विद्यालय आफैंले सम्बन्धित शिक्षकलाई प्रहरीमा बुझाएको हो। साथै विद्यालयले यस्ता घटनाहरु पुनः नदोहोरियोस् भनी विद्यार्थी तथा अभिभावकलाई सजग रहन अनुरोध गर्दछ।

प्याब्सनको प्रतिक्रिया

निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन (PABSON) नगरकार्य समिति इनरुवा सुरुवाती अवस्थामा मौन रहेको सर्वसाधारणको गुनासो थियो। तर, सर्वत्रको दवावपछि असोज ११ गते समितिले प्रेस विज्ञप्ति जारी गर्दै घटना बारे संचारमाध्यम र सामाजिक सञ्जालबाट मात्र जानकारी पाएको बताएको छ। विज्ञप्तिमा घटनाप्रति निन्दा व्यक्त गर्दै सम्बन्धित विद्यालयलाई सत्य तथ्य नलुकाई शिक्षकमाथि कडा कारबाहीको माग गरिएको छ। प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईद्वारा जारी विज्ञप्तिमा मिश्रलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई अपिल समेत गरिएको छ।

जनविरोध र शंका
यसैबीच उक्त घटनालाई लिएर व्यापक जनविरोध सुनिएको छ। विद्यालय सरस्वतीको मन्दिर भएको र विद्यार्थीका लागि आमाबुबापछि अभिभावक शिक्षक हुने परम्परा छ। तर, शिक्षककै कारण विद्यार्थी असुरक्षित हुनु दुर्भाग्यपूर्ण भएको अभिभावकहरुको बुझाइ छ।

निजी विद्यालयहरुको छाता संगठन प्याब्सन इनरुवाको आधिकारिक धारणा ढिलो आउनु, जिल्ला प्रहरी कार्यालयमा पीडित र पिडकबीच सामान्य रुपमा घटना मिलाउनु हाल नगरबासीका लागि चर्चाको विषय बनेको छ। यद्यपि विद्यालय प्रशासनले मिश्रलाई निष्कासन गरेको विज्ञप्ति जारी गरिसकेको छ, तर श्रोतका अनुसार मिश्र सो विद्यालयका लगानीकर्ता समेत भएको बताइएको छ।

हुन त यसअघि पनि इनरुवाका शैक्षिक संस्थाहरुसँग सम्बन्धित विवादित घटनाहरु समय–समयमा बाहिर ननिस्किएको होइन। तर, यसपटक स्मल हेभेनले घटनालाई आधिकारिक रुपमा स्वीकार्दै सम्बन्धित शिक्षकलाई कारबाही गरेको छ। यद्यपि अभिभावक र नगरबासीको बुझाइमा यसअघि भएका घटनाहरुलाई सामान्य रुपमा लिइएको पाइन्छ।

निष्कर्ष
यी र यस्ता किसिमका घटनाहरु भविष्यमा नदोहोरिनका लागि विद्यालय प्रशासन, अभिभावक, विद्यार्थी तथा नगरबासी पूर्ण रुपमा सचेत र सतर्क हुनु आवश्यक रहेको देखिन्छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia