बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ। काठमाडौँबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल तथा नेता महेश बस्नेत सिमरा जाने तयारीमा रहेका थिए। उनीहरू आज बिहान ११ बजे सिमरा अवतरण गर्ने कार्यक्रम थियो।
दुई नेताको स्वागतका लागि विमानस्थलको मुख्य प्रवेशद्वार नजिकैको क्यान्टिन क्षेत्रमा भेला भएका एमाले कार्यकर्ता र जेन–जी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ।
प्रदर्शनमा उत्रिएका जेन–जी समूहले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच भएको झडपपछि क्षेत्रको वातावरण थप तनावपूर्ण बनेको छ।
जेन–जी प्रदर्शनकारीले विमानस्थल प्रवेशमार्ग अगाडि टायर बालेर आन्दोलन जारी राखेका छन्। प्रहरीले प्रदर्शन नगर्न तथा सार्वजनिक सडक खाली गर्न चेतावनी दिएको भए पनि सडकमै विरोध जारी रहेको छ।








