सुनसरीको दुहवी नगरपालिकामा १५ सैयाको दुहवी नगर आधारभूत अस्पताल आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले अस्पतालको उद्घाटन गर्नुभएको हो।

ग्रामीण क्षेत्रमा अत्याधुनिक उपकरणसहित न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको प्रमुख गच्छदारले बताउनुभयो। दुहवीवासीको स्वास्थ्य समस्यालाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक अवस्था कमजोर तथा विपन्न वर्गका नागरिकका लागि यो अस्पताल लाभदायक हुने उहाँको भनाइ थियो।
स्थानीयवासीको साथ, सहयोग र विश्वासकै कारण अस्पताल स्थापना सम्भव भएको उल्लेख गर्दै उहाँले उपचारको अभावमा कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा अस्पतालमा थप सेवा विस्तार गरिने जानकारी पनि दिनुभयो।
अस्पतालमा हाल हाडजोर्नी तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञसहितको सेवा सञ्चालनमा ल्याइएको छ। यसैगरी, पौष महिनाभित्र बाल विशेषज्ञको सेवा पनि उपलब्ध हुने जानकारी दिइएको छ।
कार्यक्रममा दुहवी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतिवडाले नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल महत्वपूर्ण माध्यम बनेको बताउनुभयो।
उद्घाटन कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. यदुचन्द्र घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईं, दुहवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेलगायतको सहभागिता रहेको थियो।








