इनरुवा। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा मङ्गलबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ।

मनोनयन दर्ता भएका स्थान
सुनसरी सदरमुकाम इनरुवास्थित शिक्षा तालिम केन्द्रमा निर्वाचन क्षेत्र नं. २ र ४ का उम्मेदवारहरूको मनोनयन दर्ता भएको हो। त्यसैगरी निर्वाचन क्षेत्र नं. १ का उम्मेदवारहरूले धरान र निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवारहरूले दुहबीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन्।

कुल उम्मेदवारी संख्या
निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी जम्मा ११० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

क्षेत्र नं. १ : २६ जना
क्षेत्र नं. २ : २८ जना
क्षेत्र नं. ३ : २२ जना
क्षेत्र नं. ४ : ३४ जना

निर्वाचन क्षेत्र नं. १
यस क्षेत्रमा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, नेकपा एमालेबाट टीका माङ्लेन, नेकपाबाट सूर्यबहादुर भट्टराई (मनोज), राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ (सरिन) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्धव श्रेष्ठ उम्मेदवार बनेका छन्।
त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)को उम्मेदवारीले यस क्षेत्रलाई विशेष चासोको विषय बनाएको छ। बहुदलीय प्रतिस्पर्धा रहेका कारण यो क्षेत्रलाई चुनावी रूपमा महत्वपूर्ण मानिएको छ।

निर्वाचन क्षेत्र नं. २
निर्वाचन क्षेत्र नं. २ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। शिक्षा तालिम केन्द्र, इनरुवा–९ बबियास्थित निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत अरुण मेहताले जानकारी दिनुभयो।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट राजीव कोइराला, नेकपा एमालेबाट युवा नेता सुजन लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लालविक्रम थापा, नेकपाबाट रामकुमारी चौधरी तथा स्वतन्त्र उम्मेदवारका रूपमा पत्रकार इकवाल अहमदले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन क्षेत्र नं. ३
निर्वाचन क्षेत्र नं. ३ मा विभिन्न राजनीतिक दलबाट २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट पुनः विजयकुमार गच्छदार, नेकपा एमालेबाट भगवती चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरी उम्मेदवार बनेका छन्।

निर्वाचन क्षेत्र नं. ४
निर्वाचन क्षेत्र नं. ४ मा सबैभन्दा बढी ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीले पुनः उम्मेदवारी दर्ता गराउनुभएको छ। कार्की यसअघि दुई पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका छन्।
नेकपा एमालेबाट जगदीश कुशियैतले पनि पुनः उम्मेदवारी दर्ता गराउनुभएको छ। अघिल्लो निर्वाचनमा पनि कार्की र कुशियैतबीच नै प्रतिस्पर्धा भएको थियो। यसका साथै नेकपाबाट महमद महफुज अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपककुमार साह र जनता समाजवादी पार्टी नेपालबाट सविता यादव उम्मेदवार बनेका छन्।

मतदाता संख्या
मुख्य निर्वाचन अधिकृत प्रकाश राउतका अनुसार सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा कुल ५ लाख ८० हजार ९४५ जना मतदाता कायम छन्। तीमध्ये २ लाख ९४ हजार २५२ जना पुरुष, २ लाख ८६ हजार ६९१ जना महिला र २ जना तेस्रो लिङ्गी मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia