इनरुवा । नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षस्थित अक्वा बर्ड रिसोर्टमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनबाट उनलाई अध्यक्षमा चयन गरिएको हो।

अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ। उपाध्यक्षमा सनम तमाङ र सोहन श्रेष्ठ, सचिवमा नसीम अन्सारी, सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठ चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा स्नेहा श्रेष्ठ र सह–कोषाध्यक्षमा शुक्रान्त राई चयन भएका छन्।

सदस्यहरूमा चन्द्रकला चौधरी, हिरण कार्की, प्रतीक राई, विवेक श्रेष्ठ, प्रवेशकुमार लिम्बू, संगीता राई, रुपेशकुमार मोची, दिपेश योञ्जन र रोहन थापा चयन भएका छन्।
अधिवेशनको उद्घाटन महासंघका कार्यबाहक अध्यक्ष नवीन गड्ताैलाको अध्यक्षता तथा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्षहरू, वर्तमान नेतृत्व तथा अग्रज पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले फोटो पत्रकारिताको बढ्दो महत्वलाई मध्यनजर गर्दै यस क्षेत्रलाई अझ व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।

नवनिर्वाचित अध्यक्ष गड्ताैलाले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि, प्रविधिमैत्री अभ्यास र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले फोटो पत्रकारहरूको हकहित संरक्षणका लागि सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने बताए।








