इनरुवा। नेपाल विद्यार्थी संघ इकाई समितिको आयोजनामा हुनलागेको निःशुल्क आधारभूत कम्प्युटर तालिम छनौट प्रक्रियाका लागि शुक्रबार प्रवेशिका परीक्षा सम्पन्न भएको छ। क्याम्पसका विभिन्न संकायमा अध्ययनरत ६२ जना विद्यार्थी उक्त परीक्षामा सम्मिलित भएका थिए।
प्रवेशिका परीक्षाको माध्यमबाट छनौट भएका २० जना विद्यार्थीहरूलाई इनरुवा १ शान्ति चौकमा रहेको Inaruwa CSE पूर्ण रूपमा निःशुल्क तालिम प्रदान गरिने नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इनरुवाका का.वा.सभापति अजय कुमार शर्माले बताउनुभयो।
आर्थिक रूपमा कमजोर तथा इच्छाशक्ति भएका योग्य विद्यार्थीहरूका लागि यो तालिम निकै लाभदायक हुने स्ववियु सभापति सुनिल कुमार मण्डलले बताउनुभयो। Inaruwa CSE को प्राविधिक सहयोगमा सञ्चालन हुने तालिम पूर्ण रूपमा निःशुल्क हुने मण्डलले बताउनुभयो।

नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसैनका अनुसार यस्तो प्रकारको प्रयास यस क्याम्पसमा सम्भवतः पहिलोपटक गरिएको हो। हाम्रो टिमको आग्रहलाई सहज रूपमा स्वीकार गर्दै Inaruwa CSE सो तालिम कार्यक्रमका लागि अग्रसर भएको हो। यस किसिमको सामाजिक दायित्वका लागि Inaruwa CSE लाई हुसैनले हृदयदेखि नै धन्यवाद दिनुभएको छ।
उक्त प्रवेशिका परीक्षाको कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले अनुगमन गर्नुभएको थियो। अनुगमनका क्रममा उक्त कामको मन्त्री मन्सुरीले खुलेर प्रशंसा गर्नुभयो। उहाँले निस्वार्थ र निःशुल्क तालिम सञ्चालन गर्न लागेकोमा सम्पूर्णलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
इनरुवाको एकमात्र CTEVT सम्बद्ध छोटो अवधिको तालिम प्रदायक संस्था Inaruwa CSE करिब दुई दशकदेखि सूचना प्रविधि तथा अन्य सीपमूलक तालिम सञ्चालन गर्दै आएको संस्था हो।
प्रवेशिका परीक्षाको संयुक्त अनुगमन तथा निरीक्षणमा क्याम्पस प्रमुख रमेश मण्डल, सहायक प्रमुख टंक कटुवाल, लिला आचार्य, समाजसेवी रमेश कटुवाल र विद्यार्थी नेता नन्दन गुप्ता समेत उपस्थित रहेका थिए।










