इनरुवा — तेली कल्याण समाज नेपाल, सुनसरी जिल्ला कार्य समितिको आयोजनामा सोमबार सुनसरीको इनरुवास्थित उद्योग वाणिज्य संघको सभाहलमा विश्व तेली स्थापना दिवस मनाइयो। गणेश चतुर्थीको अवसर पारेर आयोजित कार्यक्रममा तेली समुदायको इतिहास, धार्मिक–सांस्कृतिक पहिचान र सामाजिक योगदानका विषयमा छलफल भएको थियो।

लोक–पौराणिक मान्यताअनुसार भगवान् गणेशको टाउको काटिएपछि भगवान् शिवले हात्तीको टाउको जोडेर उहाँलाई पुनर्जीवन दिएका थिए। सोही हात्ती एक व्यापारीको रहेको र शिवले उक्त व्यापारीलाई तेल पेल्ने घानी प्रदान गरी जीविकोपार्जनको बाटो देखाएको मान्यता रहेको छ, जसका आधारमा उनै व्यापारीलाई तेली समुदायको प्रारम्भिक पूर्वज मानिन्छ। यसै आधारमा तेली समुदायले गणेश चतुर्थीलाई आफ्नो स्थापना दिवसका रूपमा मनाउने गरेका छन्।

भाद्र शुक्ल चतुर्थीका आधारमा मनाइने भएकाले यसको अंग्रेजी मिति वर्षैपिच्छे फेरिन्छ। कार्यक्रममा महिचन साह, इन्द्रदेव शाह, श्यामप्रसाद साह र डा. बालकृष्ण साहलगायतको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार सुनसरीको यो कार्यक्रमले धार्मिक आस्था र सांस्कृतिक पहिचानका साथै सामुदायिक सद्भाव र संगठनात्मक एकतालाई समेत जोड दिएको छ।








