सुनसरी, भोक्राहा नरसिंह — स्थानीय सञ्चारकर्मी सुरेन्द्र मेहताले आफ्नो जन्मदिन सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ स्थित दलित बस्ती (मरिकटोल)का बालबालिकाहरूसँगै मनाएका छन्। घर भोक्राहा नरसिंह गाउँपालिकामै रहेका मेहताले सामाजिक उत्तरदायित्व र समावेशी भावना आत्मसात् गर्दै मरिकटोल पुगी त्यहाँका बालबालिकाहरूलाई मिठाई तथा शैक्षिक सामग्री वितरण गरेका थिए।

कार्यक्रममा आफ्ना धारणा राख्दै सञ्चारकर्मी मेहताले भने, “फजुल खर्च गरी तडकभडकसाथ जन्मदिन मनाउनुभन्दा समाजमा पछाडि परेका दलित तथा मरिक समुदायका बालबालिकासँग खुसी बाँड्दा नै वास्तविक आत्मसन्तुष्टि प्राप्त हुन्छ। समाजका उपेक्षित वर्ग र बालबालिकालाई माया, प्रोत्साहन र आत्मीयताको अनुभूति दिलाउने उद्देश्यले नै मैले यहाँ आएर जन्मदिन मनाउने निर्णय गरेको हुँ।”

कार्यक्रममा सञ्चारकर्मी जयकृष्ण यादव, अनिल श्रेष्ठ लगायत मानवअधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भट्टराईको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकार सञ्जालका संयोजक भट्टराईले समाजमा रहेका विभेद र असमानता अन्त्य गर्न यस्ता सकारात्मक सामाजिक पहलहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। आफ्नै बस्तीमा आयोजित यस कार्यक्रमबाट मरिकटोलका बालबालिकाहरू निकै खुसी देखिएका थिए।








