सुनसरी, दुहबी — सुनसरीको दुहबी–५ स्थित ६ लेन कोशी राजमार्गको छेउमा, इलाका प्रहरी कार्यालय (थाना) जाने बाटोमा रहेको श्री गणेश भगवानको मूर्ति लामो समयदेखि जीर्ण अवस्थामा रहेको छ। धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा रहेको उक्त मन्दिर र मूर्तिको संरक्षणतर्फ स्थानीय निकाय तथा सरोकारवाला पक्षको ध्यान अझै पुग्न सकेको छैन।

यसैबीच,हिजो गणेश चतुर्थीको पावन अवसर पारी हिन्दू युवा संघको विशेष पहलमा उक्त जीर्ण मन्दिर परिसरको सरसफाइ गरी भव्य रूपमा पूजा-अर्चना कार्यक्रम सम्पन्न गरिएको छ। संघका प्रतिनिधि तथा स्थानीय श्रद्धालुहरूको ठूलो सहभागितामा गणेश भगवानको विधिपूर्वक पूजा-आराधना गरिएको थियो।

धार्मिक सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको बताउँदै, हिन्दू युवा संघले देखाएको यस्तै तत्परता सम्बद्ध निकायहरूले पनि अपनाई जीर्ण अवस्थामा पुगेको मूर्तिको समयमै पुनर्निर्माण गरिदिनुपर्ने अपेक्षा स्थानीयवासीले गरेका छन्।

कार्यक्रममा विश्व हिन्दू परिषद्, युवा विभाग, दुहबीका पंकज हलुवाई, चन्दन बैठा, अभिषेक, जीवन साह, दीपक पोदार, राहुल रौनियार र चन्दन साहको सहभागिता रहेको थियो।








