काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेअनुसार मंसिरमा निर्वाचन गराउन सक्षम रहेको प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएको छ । तर, आवश्यक ऐन संसद्बाट भदौसम्ममा बनिसक्नुपर्ने कामु प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताएका छन् ।निर्वाचन आयोगमा सोमबार भएको प्रधानमन्त्री ओलीसहितको टोलीसँगको छलफलमा कामु प्रमुख निर्वाचन आयुक्त डा. यादवले नयाँ संविधानअनुसार समयमै ऐन–कानुन दिएमा निर्वाचन सम्भव रहेको बताएका हुन् ।
निर्वाचनको तयारीबारे प्रधानमन्त्री केपी ओलीले सोमबार निर्वाचन आयोगसँग छलफल गरेका छन् । आयोगले निर्वाचनका लागि आवश्यक ऐन र आन्तरिक तयारीबारे जानकारी गराएको कामु प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिए । प्रधानमन्त्री ओलीले राजनीतिक समस्याको सम्बोधनका साथै निर्वाचनको आवश्यक व्यवस्था सरकारले मिलाउने उल्लेख गर्दै आफ्नो तयारी अगाडि बढाउन आयोगलाई आग्रह गरेका थिए । आयोगसँगको छलफलमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुनमन्त्री अग्नि खरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमाले महासचिव ईश्वर पोखरेललगायत सहभागी थिए ।
सरकारले मंसिरमा स्थानीय तहको निर्वाचन गराउने कार्यतालिका बनाएको छ । तर, त्यही निर्वाचन गराउन आवश्यक ऐन भने मंसिर मसान्तभित्र बनाउने कार्यतालिका सरकारको छ । सरकारले ५ असारमा संसद्मा पेस गरेको कार्ययोजनामा ०७३ मंसिर मसान्तभित्र निर्वाचन आयोग ऐन, मतदाता नामावलीसम्बन्धी ऐन, निर्वाचनसम्बन्धी कसुर र सजाय ऐन बनाउने उल्लेख छ । तर, भदौभित्र यी ऐन नबने मंसिरमा निर्वाचन गर्न कठिन हुने आयोग अधिकारी बताउँछन् ।’अाजको नयाँ पत्रिका दैनिकमा खबर छ ।








