काठमाण्डाै / मुलुकको आन्तरिक सीमांकन भद्रगोल हुँद्या ८ जिल्लाका ३५ गाविसका भू-भागहरु अन्य गाविसको बीचमा रहेको पाइएको छ। स्थानीय निकाय पुनःसंरचना आयोगका अनुसार तराईका ८ जिल्लाका यी गाविसहरुको वडा र भूभागहरु अन्य गाविसको बीचमा टापुजसरी रहिरहेको पाइएको छ।
आयोगले स्थानीय निकायको पुनःसंरचनाका लागि देशभरका नक्सा अध्ययन गर्दा गाविसको मुख्य क्षेत्रको सीमासँग कतै नछोएका वडाहरु अरु गाविसहरुमा छरिएर रहेको पाइएको हो।
आयोगले बाराको बच्चन पूर्वहवा गाविस ५ टुक्रामा भेट्टाएको छ। बच्चन पूर्वहवा गाविस ५ वडा सिहसनी, अमाव र रामपूर्वा गाविसको बीचमा रहेको आयोगका भौगोलिक सूचना प्रणाली विज्ञ शंकरराज पाठकले बताए। उनका अनुसार बाराको बिसनपुर, करैया र हर्दिया गाविस ३-३ टुक्रामा विभाजित रहेको पाइएको छ।
पाठकका अनुसार बाराकै अमाव, बन्जरिया, कवाही जब्दी, महेन्द्र आदर्श, प्रस्तोका, परशुरामपुर, रघुनाथपुर र रामपूर्वा गाविसको २ वडा अरु गाविसभित्र पर्छ। यसैगरी पर्साको अमरपट्टी, बैरिया बिर्ता, देउरबना, घोड्डउड पिप्रा र नगरदाह गाविसका वडाहरु अरु गाविसभित्र रहेको छ। यसैगरी रौतहटको हर्षपठुवा, कठरिया र रमौली बैरिया, धनुषाको बगचौडा, कजरा रमाउल र मिथिलेश्वर निकास गाविसको २-२ वटा वडा अन्य गाविसको बीचमा रहेको पाइएको हो।








