काठमाडौं /अनुगमनमा गएको सरकारी टोलीमाथि बल्खु तरकारी बजारका व्यापारीले मंगलबार हातपात गरेका छन् । डिजिटल तराजु नवीकरण नगरेको, प्रमाणित नगरेको र कम तौल दिएर उपभोक्ता ठगेको भन्दै कर्मचारीले तराजु जफत गरेपछि हातपात गरेका हुन् । व्यापारीले बन्दा, काँक्रो, मूलालगायतका तरकारीले आक्रमणसमेत गरेका थिए ।
तराजुको पछाडि निर्माता कम्पनीको स्टिकर नदेखेपछि तराजु प्रमाणित भए–नभएको र नवीकरण गरे–नगरेको कागजात ल्याउन अनुगमन टोलीले व्यापारीलाई निर्देशन दिएका थिए । तराजुको प्रमाणित कागजात नभए जफत गरी लैजाने र नापतौल प्रमाणित गरी पठाइदिने ओझाले बताए । सो क्रममा आपूर्ति विभागका निरीक्षक रामचन्द्र काफ्ले एउटा स्टलमा स्टिकर नभएको तराजु फेला पारे । स्टलबारे जानकारी माग्दा कसैले नबताएपछि तराजु जफत भयो । अर्को त्यस्तै तराजु जफत गर्न लाग्दा एक व्यापारीले नलैजान आग्रह गरे ।
तर, ओझाले प्रमाणित नगरी चलाएको तराजु छाड्न नमिल्ने बताए । व्यपारीले जवाफ फर्काए, ‘तराजु लाने नै भए तरकारीको रिस्क पनि लिइदिनुपर्यो ।’ सोही क्रममा कपाल पालेका एक व्यापारी आएर प्रतिकार गर्न निर्देशन दिए । त्यसपछि एक दर्जन व्यापारीले हल्ला गर्दै बन्दा, मुलालगायतले कर्मचारीलाई झटारो हानेका थिए । कर्मचारी स्लटबाहिर पष्ुगेपछि व्यापारीले घेरेर हातपात गरेका थिए । करिब १० मिनेट कर्मचारीलाई घेरेर गाली गर्दै जफत गरिएका तराजु फिर्ता लगेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।









