काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ सरकार गठनमा संवैधानिक अस्पष्टता रहेको भन्दै नयाँ गठबन्धन बनाएका कांग्रेस र माओवादी केन्द्रलाई स्पष्ट पार्न प्रस्ताव गरेका छन् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सोमबार साँझ बालुवाटार बोलाएर ओलीले यस्तो प्रस्ताव राखेका हुन् । संविधानभित्रका प्रावधानहरू स्पष्ट नरहेको उल्लेख गर्दै ओलीले यसमा सबै दलले स्पष्ट गर्न जरुरी रहेको धारणा राखेका थिए ।
सत्तारूढ दलहरूले संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न नसकिने जिकिर गर्दै आएका छन् । तर संसद्मा अविश्वासको प्रस्ताव राख्ने कांग्रेस–माओवादी गठबन्धनले संसदको नियमावलीमा स्पष्ट व्यवस्था रहेकाले नयाँ सरकार गठनमा कुनै बाधा नरहेको बताउँदै आएका छन् ।
यही सन्दर्भमा दुवै पक्षले कानुनविद्हरूसँग शनिबार र आइतबार छुट्टाछुट्टै छलफल गरेका थिए । ओलीले संविधानअनुसार आफू अघि बढ्ने भन्दै देउवा र दाहाललाई धेरै अविश्वास र भ्रम नपाल्न पनि आग्रह गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।








