Niruta-Sing

काठमाडौं /  एकसमयकी चर्चित अभिनेत्री निरुता सिंहलाई दर्शकहरुले पर्दामा हेर्न नपाएको पनि अहिले लामो समय भइसकेको छ । २०२९ साल असोज १० गते भारतको दार्जलिङ्गमा जन्मिएकी निरुता सिंह सोमबारबाट ४४ बर्षमा लागेकी छिन् । सन् १९९३ मा निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दक्षिणा’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी निरुताले त्यसपछिका एक दशक नेपाली चलचित्रमा एकछत्र राज गरिन् । उनले अभिनय गरेका मनमन्दिर, दर्पण छाँया, बन्धकी, दुई किनारा, दुख, आमाको काख, आफन्त, माइती, माइली, सन्तान थरी थरीका, लहना लगायतका दुई दर्जन बढी चलचित्रहरु सुपरहिट छन् । सुन्दर र भलाद्मी नायिकाको उपमा पाएकी निरुता सिंह पछिल्लो समय भारतमा बस्दै आइरहेकी छिन् । चलचित्र खेल्न छाडेर उनी लामो समयदेखि मुम्बईमा इन्टेरियर डिजाइनको काम गर्दै आएकी छन्। उनलाई निर्देशक तुलसी घिमिरेले चलचित्र ‘दर्पण छाँया २’ बाट पुन कमब्याक गराउन नखोजेका होइनन् तर कार्यव्यस्तताका कारण निरुताले उक्त चलचित्रमा काम गरिनन् ।

 अब उनी फेरी नेपाली चलचित्रमा कमब्याक गर्ने सम्भावना निकै न्यून छ । निरुताका पिता निर्देशक तुलसी घिमिरेका साथी थिए । तुलसी घिमिरेले निर्देशन गर्ने सबै चलचित्रमा तृप्ती नार्टकरपछि निरुताले स्थान लिएकी थिइन् । पहिलो चलचित्र दक्षिणाबाट अभिनय यात्रा थालेता पनि तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छाँया’ बाट उनी सबैको नजरमा परिन् र आर्कषणको केन्द्रविन्दु समेत बनिन् । कलेजमा पढ्ने विद्यार्थी जो मृत्युको पखाईमा थिइन जोसँग बाच्ने समय केवल ६ महिना थियो त्यस्तो भुमिकामा निरुताले अभिनय गरेकी थिइन । २००१ मा नेपाली चलचित्र ‘दर्पण छाँया’ त्यसयता प्रदर्शनमा आएका चलचित्रहरु मध्ये सर्वाधिक व्यापार गर्न सफल चलचित्रको सूचीमा दर्ता हुन पुग्यो ।

अभिनयका साथ साथै गायनमा पनि रुची राख्थिन् निरुता । उनले नेपाल टेलिभिजनका लागि दीपक रायमाझीद्धारा निर्देशित टेली चलचित्र ‘बंश’को शिर्ष गीतमा पहिलो पटक आफ्नो स्वर दिएकी थिइन । पछि उनले ‘दिपसिखा’ नामक एल्बमका लागि पनि एउटा गीत रेकर्ड गराएकी थिइन । उनले गाएको ‘छाडी जाने मायालु’ बोलको एक आधुनिक गीत अहिले पनि दर्शक, स्रोतामाझ निकै चर्चित छ । उनले सन् २००८ देखी २०१० सम्म आफ्नो सौख पुरा गर्न इन्टेरियर डिजाइनिङ्ग सिक्नका लागि मुम्बई प्रस्थान गर्दै अभिनयलाई २ बर्षका लागी ब्रेक लगाएकी थिइन । त्यसपछि उनी पुन: नेपाल फर्किएर चलचित्र अभिनयमा लागिनन् । उमेरले ४४ बर्ष लागेपनि उनी हालसम्म अविवाहित छिन् । ओएस नेपालबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia