४६ वर्ष भइसकेछ । समय बितेको पत्तै हुँदैन, किनारमा बसेर नदीमा पानी बगेको हेरेजस्तै । लन्डनमा बीबीसी नेपाली सेवाको प्रसारणको प्रारम्भिक चरणमा म कार्यक्रम सञ्चालन गर्थें । त्यसताका नेपालबाट बेलायतमा आउने नेपाली मानिसको संख्या सीमित हुन्थ्यो । त्यसमा पनि सार्वजनिक व्यक्तित्व भएको पात्र भेट्टाउन त शिला नै खोज्नुपथ्र्यो ।
नेपाली राजदूतावासका प्रथम सचिव हुनुहुन्थ्यो ईश्वरीराज पाण्डे । उहाँ अत्यन्त भद्र, सरल र सहयोगी मानिस । राजा महेन्द्र लन्डन आएको समाचारको सूचना उहाँबाटै पाएँ । मनमनै आफैँसँग गन्थन गरँे– राजा महेन्द्रको अन्तर्वार्ता लिन पाए कस्तो हुन्थ्यो होला ? नेपाली कार्यक्रमको गरिमा र लोकप्रियता कति बढ् थ्यो होला ?
मैले ईश्वरीराजजीकै सहयोग र सिफारिसमा राजाका सचिव मधुसूदन राजभण्डारीसँग सम्पर्क कायम गरेँ र आफ्नो परिचय दिँदै राजाको अन्तर्वार्ताका लागि विनम्र अनुरोध गरेँ । सचिवज्यूले निर्णय दिन सक्नुभएन, आश्वासन मात्रै पाएँ, भोलिपल्टको तारेखसहित । भोलिपल्टको सम्पर्कमा राजभण्डारीजीले शुभ समाचार दिनुभयो– तेस्रो दिन अपराह्न ३ बजे राजासँगको अन्तर्वार्ता तय भएको रहेछ । यस समाचारले म दंगदास परेँ ।
तोकिएको दिनमा नेपाली राजदूतावास रहेको केन्सिलटन प्यालेस गार्डेनको छेवैमा अवस्थित होटल रोयल स्वीटको प्रतीक्षा कक्षमा म आफ्नो दलबल (स्थिर छायाकार र ध्वनि नियन्त्रक)सहित आधा घन्टा पहिले नै पुगिसकेको थिएँ । प्रतीक्षा कक्षमा राजाका एडीसी शेरबहादुर मल्ल हुनुहुन्थ्यो । अत्यन्त भद्र र कम बोल्ने मानिस । उहाँले मलाई बैठक कक्षमा लिएर जानुभयो । हामीबीच कहाँ बसेर अन्तर्वार्ता गर्ने भन्नेबारे विचार–विमर्श भयो । मल्लजीले प्रतीक्षालयबाट एउटा कुर्सी ल्याएर टेबलअगाडि राख्नुभयो, मेरा लागि । केहीबेरमा भित्री कोठाबाट राजाको आगमन भयो, बैठकमा । शेरबहादुरजी तन्कनुभयो, मैले निहुरिएर नमस्ते गरेँ । राजा महेन्द्र सोफामा बसे । शेरबहादुरजीले मलाई देखाउँदै राजालाई जाहेर गर्नुभयो, “सरकार मैले उहाँलाई त्यो कुर्सीमा बस्नु भनेँ ।”
राजा, “हुन्छ, बस ।”
म कुर्सीमा बसेँ । मनमनै आफैँसँग सोधेँ, “कुर्सीमा बस्ने कुरा राजालाई किन जाहेर गर्नुपरेको होला ?”
कुर्सीमा बसेपछि आफैँ उत्तर पाएँ । म बसेको कुर्सीको उचाइ राजा बसेको सोफाभन्दा केही इन्च अग्लो थियो ।
“यादव, के छ तिम्रो हालखबर ?” राजाको प्रश्नले म छक्क परेँ, कसरी थाहा भयो मेरो नाम ?
बीबीसीबाट अन्तर्वार्ताका लागि फलानो आउँदै छ भन्ने कुराको ब्रिफिङ पहिल्यै भइसकेको रहेछ, मैले अनुमान लगाएँ । राजा महेन्द्रले लन्डनमा बस्ने नेपालीहरू, बीबीसी नेपाली सेवा र मेराबारे विभिन्न प्रश्न गरे । राजाको बेलायतमा बस्ने नेपालीप्रतिको चासो र जिज्ञासा सराहनीय थियो । राजा महेन्द्रको १५ मिनेटजतिको कुराकानीमा यति सहजता र सरलता थियो कि मैले राजाको अन्तर्वार्ता लिँदै छु भन्ने कुरै बिर्सेछु ।
बल्ल अन्तर्वार्ताको पालो आयो । अनि, स्थिर छायाकार र ध्वनि नियन्त्रकलाई कोठाभित्र बोलाइयो । ध्वनि नियन्त्रकले बीबीसीको लो गो अंकित माइक्रोफोन टेबुलमा राखे । छायाकार तस्बिर खिच्नपट्टि लागे भने मचाहिँ राजाको अन्तर्वार्तातिर केन्द्रित भएँ । राजालाई सोध्ने प्रश्नहरूको खाकाको मैले तयारी गरेको थिएँ । मेरा प्रत्येक प्रश्नको राजा महेन्द्रले सहज र सरल तरिकाले स्पष्ट उत्तर दिए । सबै प्रश्नको उत्तर राजासँग तयार थियो, सोचिरहनै नपर्ने ।
अन्तर्वार्ताका क्रममा राजाको विविध विषयबारेको वैचारिक प्रस्टता र सहज अभिव्यक्तिले म प्रभावित भएको थिएँ । करिब ४५ मिनेटको संवादपछि छुट्टिने बेलामा राजा महेन्द्रले मलाई भने, “यादव, तिमी नेपाल फर्केपछि मलाई भेट । नेपालमा सिनेमाको क्षेत्रमा धेरै काम गर्नुछ ।” म त्यसबेला लन्डन युनिभर्सिटी अन्तर्गत लन्डन फिल्म स्कुलमा चलचित्र निर्देशन/निर्माणको अध्ययन गर्दै थिएँ ।
राजासँगको अन्तर्वार्तापछि धेरै सकारात्मक प्रतिक्रिया प्राप्त भए, श्रोताहरूबाट । ती श्रोता नेपाल, हङकङ र प्रवासका थिए । अनि, अन्तर्वार्ताको एक प्रति रेडियो नेपाल पठाइएको थियो । गोरखापत्रलगायत सबैजसो पत्रपत्रिकाले उक्त अन्तर्वार्ता प्राथमिकतासाथ छापे । रेडियो नेपालले त धेरैपटक अन्तर्वार्ता बजाएको थियो रे !
रेडियो नेपालले नबजाएको अन्तर्वार्ताको प्रसंग जोड्न मन लाग्यो । त्यो अन्तर्वार्ता थियो– श्री ५ युवराजाधिराज वीरेन्द्रसँगको ।
त्यो कालखण्डमा नेपालका भावी राजा युवराजाधिराज वीरेन्द्र राज्य सञ्चालनको तालिमका क्रममा थिए भन्ने लाग्छ मलाई । तत्कालीन राजा महेन्द्रले नेपालका केही बुद्धिजीवीहरूलाई समावेश गरेर जाँचबुझ केन्द्रको स्थापना गरेका थिए । जाँचबुझ केन्द्रले विभिन्न विषयमा अध्ययन, अन्वेषण, अनुसन्धानका साथसाथै राष्ट्रिय नीति निर्माणमा सघाउने काम गथ्र्याे । यसको नेतृत्वको जिम्मा तत्कालीन युवराजाधिराज वीरेन्द्रलाई दिइएको थियो ।
तत्कालीन युवराजाधिराज नेपाली राजदूतावासमै बसेको सूचना पाएपछि म फेरि तत्कालीन राजा महेन्द्रका बेलाजस्तै सक्रिय भएँ । युवराजाधिराजका सचिव जोशी थरका व्यक्ति थिए, अहिले नाम बिर्सें ।
जोशीजीलाई भेटेर अन्तर्वार्ताका लागि युवराजाधिराजको समय मिलाइदिनका लागि अनुरोध गरेँ । मेरो प्रस्तावले जोशीजी अकमकाउनु भयो । सायद मेरो प्रस्ताव अनपेक्षित थियो ।
उहाँ निकैबेर घोरिनुभयो । अनि, सोध्नुभयो, “सरकारलाई के के प्रश्न सोध्नुहुन्छ ?”
मसँग प्रश्नको उत्तर तयार थिएन । मैले प्रश्न तयार भई नसकेको बताएँ । त्यसपछि जोशीजीले निर्णय सुनाउनुभयो, “पहिले मलाई सरकारलाई सोध्ने प्रश्न लेखेर दिनूस् अनि मात्र म जाहेर गर्छु ।”
म ‘हस्’ भन्दै फर्किएँ । त्यसै दिन बेलुकी प्रश्नहरू लेखेर जोशीजीलाई बुझाएँ । तर, भोलिपल्ट पनि मेरो ताकेताको जवाफमा जोशीजीले कुनै निश्चित उत्तर दिनुभएन । गोलमटोल कुरा गर्नुभयो । त्यही साताको अन्त्यमा युवराजाधिराजको सम्मानमा राजदूतावासले पार्टीको आयोजना गरेको थियो ।
त्यही पार्टीमा युवराजाधिराजसँग भेट हुने कुराको सूचना भने पाएँ जोशीजीबाट । तर, अन्तर्वार्ता दिने कुरा भने फासफुस भयो । तर, मैले हार मानिनँ । एकपटक ‘चान्स’ लिने विचार गरेँ । अन्तर्वार्ता तय नभएकाले ध्वनि नियन्त्रक र छायाकारलाई लिएर जाने कुरा भएन । म आफैँले एउटा सानो टेपरेकर्डर बोकेर राजदूतावासको पार्टीमा पुगेँ । पार्टीमा नेपालीहरूका साथै विभिन्न राजदूतावास र अन्तर्राष्ट्रिय संघ–संस्थाका महत्त्वपूर्ण व्यक्तिहरू सम्मिलित थिए । पिउने, पिलाउने र कुराकानी गर्ने क्रम चलिरहेको थियो । यही क्रममा युवराजाधिराजले मलाई एक्कासि सोधे, “प्रश्न सोध्ने भनेको होइन त मलाई ?”
‘हो सरकार !’ भन्दै म टेपरेकर्डर राखेको स्थानतर्फ लम्केँ । आधा घन्टाजतिको अन्तर्वार्ताका क्रममा मैले युवराजाधिराजलाई नयाँ शिक्षा नीतिका साथै युवा पिँढीको नेतृत्व गर्ने उहाँको भिजनसहित विभिन्न प्रश्न सोधेँ । मेरा प्रश्न आलोचनात्मक पाराका थिए । सम्पादनपश्चात् अन्तर्वार्ता बीबीसी नेपाली सेवाबाट प्रसारण गर्नुका साथै रेडियो नेपालमा पनि पठाइयो । तर, उक्त अन्तर्वार्ता रेडियो नेपालले बजाएन र गोरखापत्रले पनि छापेन । कारण के होला ? हामी ‘बुस आउस’मा बसेर अनुमान गरिरहेका थियौँ । छलफलमा तीन सम्भावना देखिए, प्रश्नहरू अप्ठ्यारा र आक्रामक हुनु, उत्तरहरू सन्तोषजनक नहुनु र कुनै पनि राजाले आफ्नो समयमा युवराजाधिराजको बढी प्रचार–प्रसार मन नपराउनु । यी सब हाम्रा अनुमान मात्र थिए । यथार्थचाहिँ के थियो भने, नेपाली समाचार माध्यमहरूले तत्कालीन श्री ५ युवराजाधिराज वीरेन्द्रसँगको त्यो अन्तर्वार्ता ‘ब्ल्याक आउट’ गरेका थिए । पछि यस प्रकरणका यथार्थहरू सतहमा आउँदै गए ।
साप्ताहिक नेपाल









