काठमाडौं, २४ माघ । सर्वोच्च अदालतको फैसलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त लोकमानसिंह कार्की अकुत सम्पत्ति आर्जन मुद्दामा छानबिनका लागि तानिने भएका छन् ।
संसद्को महाभियोग सिफारिस समितिअन्तर्गतको उपसमितिले कार्कीमाथि अकुत सम्पत्ति आर्जनमा छानबिन हुनुपर्ने प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
सर्वोच्च अदालतले संसद्मा कार्कीविरुद्धको महाभियोग प्रस्ताव विचाराधीन भएकै अवस्थामा उनी आयोग प्रमुख हुन अयोग्य भएको फैसला पुस २४ आ सुनाएको थियो । फैसलासँगै कार्की पदमुक्त भएका हुन् ।
कार्कीविरुद्ध महाभियोग लाग्ने वा नलाग्ने विषयमा राय दिन अध्ययन अनुसन्धान गर्न समितिले गठन गरेको उपसमितिले प्रमुख आयुक्त हुँदा उनले पदको दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको देखिएकाले छानबिनको दायरामा ल्याउन सुझाव दिन लागेको हो ।आजको नागरिक दैनिकमा खबर छ।








