
अध्यक्ष, नेपाल कम्प्युटर
एशोसिएसन अफ नेपाल (क्यान)
सूचना, सञ्चार तथा प्रविधि नै राष्ट्रको आर्थिक विकासको आधार ठान्ने ई. विनोद ढकाल काठमाडौंमा सन् १९७० मा जन्मेका हुन् । भारतको द इन्ष्टिच्युट अफ इञ्जिनीयर्सबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा बीई गरेका उनले एस इन्ष्टिच्युट अफ म्यानेजमेण्ट (पूर्वाञ्चल विश्वविद्यालय)बाट म्यानेजमेण्ट, फाइनान्स र मार्केटिङ विषयमा ईएमबीए गरेका छन् । उनी सूचना तथा प्रविधिसम्बन्धी जापानलगायत देशमा सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनहरूमा सहभागी भइसकेका छन् । उनले नेपाल सरकारको सूचना प्रविधिसम्बन्धी उच्चस्तरीय आयोग (एचएससीआईटी)मा कम्प्युटर अधिकृतका रूपमा सेवा गरिसकेका छन् । यसै क्षेत्रसँग सम्बन्धित विभिन्न निजी कम्पनीमा काम गरिसकेका उनी इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इञ्जिनीयरिङ प्रालिका प्रबन्ध निर्देशक हुन् । नेपाल इञ्जिनीयर्स एशोसिएशनको आजीवन सदस्य ढकाल कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)को सचिव, महासचिव, द्वितीय उपाध्यक्ष हुँदै सन् २०१२ मा अध्यक्ष भएदेखि आजसम्म संस्थाको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
आजको युगमा सूचना, सञ्चार तथा प्रविधि (आईसीटी)विना विकासका कुनै पनि आयाम सम्भव छैन । यसैको सहयोगले विकसित मुलुकहरु आजको स्थानमा पुगेका हुन् । हाम्रो जस्तो विकासमा अझै पनि पछि परेको मुलुकका लागि यसको महङ्खव र आवश्यकता झन् धेरै रहेको छ । राज्यले नै यस क्षेत्रको विकास गर्न खास किसिमको लगानी र कार्य गर्नुपर्छ । तर, नेपालमा अहिलेसम्म पनि राज्यका तर्फबाट आईसीटीलाई हेर्ने दृष्टिकोण नै प्रभावकारी हुन सकेको छैन । त्यसले गर्दा यो क्षेत्रको यथोचित विकास हुन सकेको छैन । कमजोरी कहाँनेर देखिन्छ भने नीतिनिर्माण तहका जिम्मेवारहरुले आईसीटीलाई विकासको मूल आधारसँग जोडेर हेर्न सकेका छैनन् । यसलाई नीतिगत तहबाटै काम गर्नु अहिलेको पहिलो आवश्यकता हो ।
वास्तवमा यो क्षेत्रको विकास गर्न त्यत्ति धेरै लगानी आवश्यक पर्दैन । मात्र सोचको खाँचो छ । हाम्रा छिमेकी दुई ठूला राष्ट्र चीन हार्डवेयरमा र भारत सफ्टवेयरमा अघि बढेका छन् । ती देशका कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रले निकै सकारात्मक योगदान गरेका उदाहरण छन् । नेपालमा पनि प्राज्ञिक रुपमा आईसीटीको अध्यापन तथा तालीमहरु दिन थालिएपछि जनशक्ति राम्रै मात्रामा उत्पादन हुँदै आएका छन् । तर, हाम्रा जनशक्ति भारत, अष्टे«लिया, अमेरिकालगायत धेरै देशमा आफ्नो शीप बेच्दै छन् । हाम्रै देशमा चाहिँ त्यो खालको पूर्वाधार बनाउन खास कोशिशसम्म गर्दैनौं । त्यो एउटा विडम्बना हो । अहिलेसम्मको अवस्था हेर्दा निकट भविष्यमै यस क्षेत्रमा केही भइहाल्ने सङ्केत पनि देखिँदैन ।
अहिले चाहिँ जेजस्तो प्रगति भएको छ, त्यो विश्वव्यापी प्रभावस्वरुप आफैं हुँदै गएका हुन् । तर, यसलाई विकाससँग जोडेर अघि बढ्न नेपालले सफ्टवेयरको क्षेत्रमा विकास गर्न सक्ने सम्भावना छ ।
अहिले हामी आर्थिक विकासका सन्दर्भमा पर्यटन, कृषिलगायत क्षेत्रको व्यवसायीकरणको कुरा गर्छौं । तर, यी क्षेत्रको विकास गर्नु पहिले आईसीटीको विकास गर्नुपर्छ भन्नेचाहिँ छिमेकी देशलाई हेरेर पनि सिक्नु जरुरी छ । अहिले बङ्गलादेशमा ‘डिजिटल बङ्गलादेश’ अभियान शुरु भएको छ । अहिले बहुराष्ट्रिय कम्पनीका आईसीटीसम्बन्धी अधिक उत्पादन बङ्गलादेशमा हुने गरेका छन् । वातावरणीय प्रतिकूलताका हुँदाहुँदै पनि आईसीटीको विकासमा बङ्गलादेशले प्रवद्र्धनात्मक नीति लियो । विदेशीले समेत त्यहाँ गएर काम गर्न, उद्योग स्थापना गर्न सक्ने, लगानी गर्ने नीति अख्तियार गर्यो । त्यसले बङ्गलादेशको आर्थिक वृद्धिलाई धेरै माथि उठायो । हरेक हिसाबले काम गर्ने अनुकूल वातावरण भएको नेपालमा सोही प्रकारको नीति ल्याउने हो भने यहाँ पनि बाह्य लगानी भिœयाउन सकिन्छ ।
आईसीटी एउटा टूल (माध्यम) मात्र हो । यसको प्रयोग जुनसुकै क्षेत्रमा गर्न सकिन्छ । अहिले हामी कृषि, पर्यटन क्षेत्रको विकासको कुरा गरिरहेका छौं । यसले यीलगायत जुनकुनै क्षेत्रको विकास सहज बनाइदिन्छ । यसका लागि सफ्टवेयर, प्रोग्राम डेभलप गर्नुप¥यो । नेपालमा मानव स्रोत पर्याप्त मात्रामा छ । तर, यहाँ रोजगारीको उचित अवसरको अभावमा त्यो जनशक्ति विस्तारै विदेश पलायन हुँदै छ ।
हाम्रो नयाँ पुस्तामा आईसीटीप्रति निकै रुचि छ । यसलाई ख्याल गर्दै राज्य स्तरबाटै तदारुकताका साथ यो क्षेत्रको विकास योजना ल्याउन र कार्यान्वयन गर्न हतार गर्नु आवश्यक छ । त्यसो गर्न सके कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान उल्लेख्य हुने सम्भावना छ । अन्य देशका उदाहरणले यो कुरा पुष्टि गरिसकेको छ । योजनाबद्ध रुपमा काम गर्ने हो भने सबैभन्दा पहिले, कुनकुन क्षेत्रमा केकस्तो प्रकारको आवश्यकता छ ? त्यसलाई आईसीटीको कुनचाहिँ टुल प्रयोग गर्यो भने कस्तो लाभ लिन सकिन्छ ? त्यसका लागि कस्तो प्रकारको पूर्वाधार विकास गर्नुपर्छ ? लगानी र समयावधि कति लाग्छ ? त्यो लगानीको स्रोत केके हुन सक्छ ? हाम्रा उत्पादनको बाह्य बजार कहाँकहाँ हुन सक्छ ? त्यसका लागि कानूनी तथा नीतिगत व्यवस्था केके छन् ? केके कुरामा सहजता ल्याइदिने हो भने काम गर्न सहज हुन्छ ? यसका लागि राज्य र निजीक्षेत्रको सहकार्य कसरी गर्ने ? यी यावत् विषयमा दीर्घकालीन कार्ययोजना बनाउनुपर्छ । त्यसका लागि सर्वप्रथम अध्ययन/अनुसन्धानमा लगानी गर्नुपर्छ । यसका लागि ढिलो नगरीकन सरकारले काम गर्नसके निकट भविष्यमै दोहोरो अङ्कको आर्थिक वृद्धिदर प्राप्त गर्न आईसीटी एउटा गतिलो आधार बन्ने निश्चित छ ।अभियानबाट








