काठमाडौं । सरकारले (अत्याधुनिक नम्बरप्लेट) इन्बोस्ड नम्बर प्लेटको आईतवार उद्घाटन गर्ने भएको छ । लामो प्रयासपछि भदौ ४ गते आइतबार औपचारिक रूपमा इन्बोस्ड नम्बर प्लेट कार्यान्वयमा आउने भएको हो । सोमबारको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेटको लागत स्वीकृत गरेपछि विभागले आइतबारदेखि औपचारिक रूपमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गर्ने तय भएको विभागले जनाएको छ । पहिलो चरणमा कूटनीतिक र सरकारी सवारीसाधनबाट यो निर्णय कार्यान्वयन गरिनेछ ।
सवारी तथा यातायात व्यवस्था ऐनको अनुसूची परिवर्तन भए पनि निर्धारित इम्बोस्ड नम्बर प्लेटको मूल्य मन्त्रिपरिषद् पास नगर्दा रोकिएको अब त्यो समस्या समाधान भएकाले अब आइतबार उद्घाटन हुने यातायात व्यवस्था विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन सरकारी सवारीसाधनबाट सुरु गरी ५ वर्षभित्र सबै सवारीमा जडान गरी सक्ने सरकारी लक्ष्य छ । अर्थ मन्त्रालयले लागत स्वीकृत गरे पनि मन्त्रिपरिषद्बाट स्वीकृत नहुँदा केही ढिलाइ भएको थियो । इम्बोस्ड नम्बर प्लेटको लागत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिफारिस गरेअनुसार नै स्वीकृत भएको छ ।
कति दस्तुर लाग्छ ?
मन्त्रालयले न्यूनत २५ सयदेखि ३६ सय रुपैयाँ लागत राख्दै तीन तहको मूल्य सिफारिस गरेको थियो । अब मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड नम्बर जडानमा २५ सय रुपैयाँ खर्च गर्नु पर्ने छ । यसैगरी कार/जिप/भ्यान तथा ट्र्याक्टरले ३२ सय र यस बाहेकका सबै प्रकारका ठूला सवारी साधनमा सवारी धनीले इम्बोस्ड नम्बर जडान गर्दा ३६ सय रुपैयाँ खर्चनु पर्नेछ । एउटा सवारीसाधनमा अगाडि र पछाडि दुई ठाउँमा इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ ।
यसबाट हुने फाइदा के ?
यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ। जसलाई सबैले सहजै देख्न सक्छन्। प्लेटमा लेखिएका अक्षरहरु बाहिर देखिने गरी उठेका हुन्छन्। यो बलियो र किफायती हुनेछ। यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन। त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन। संघीयतामा गएपछि पनि सवारी दर्ता प्रणालीलाई यसै स्टीकरमार्फत व्यवस्थित गर्न सकिने विभागले जनाएको छ ।
यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ ।प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । स्मार्ट ब्लु-बूक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ ।
यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिनसहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेमा छन् भन्ने थाहा पाउन समय लाग्दैन । यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सूचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ। यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्नेछ।
इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनका फाइदा
१. इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा आएपछि सवारीसाधनको चोरी नियन्त्रण हुन्छ । किनकि एकपटक नम्बर राखेपछि त्यो ‘फिक्स’ हुने भएकाले परिवर्तन गर्न मिल्दैन । १० वर्षसम्म त्यही रहिरहन्छ ।
२. अहिले कतिपय सवारीसाधन कर नतिरी सञ्चालन भइरहेका छन् । इम्बोस्ड नम्बर राखेपछि कर नतिरी सवारीसाधन सञ्चालन गरेको खण्डमा तुरुन्तै नियन्त्रणमा लिन सकिन्छ । साथै प्रणालीबाट थाहा पाउन सकिन्छ ।
३. इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि चीन र भारतलगायत विश्वस्तरीय मापदण्डअनुसार नेपाली सवारीसाधन पनि हुनेछन् । संसारभर नै सवारीसाधनको नम्बरमा एकरूपता आउनेछ ।
४. अहिले नेपालमा नौथरीका सवारीसाधनको प्रकारहरू रहेकामा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि सवारीसाधनको प्रकार चारवटामा सीमित हुनेछ । तिनीहरू सरकारी, निजी, कूटनीतिक र व्यावसायिक सवारीसाधन हुनेछन् ।
के हो इम्बोस्ड नम्बर प्लेट ?
सवारीसाधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ । यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो । हाल सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ ।
प्लेटको लेभलभन्दा अक्षरको लेभल माथि उठेकाले इम्बोस्ड भनिने यस्तो नम्बर प्लेट आधुनिक र सुरक्षित मानिन्छ । इम्बोस्ड नम्बर प्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन नम्बर’ रहनेछ । यसले कति नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा रहेको छ पत्ता लगाउँछ । रिसेन्ट नेपालबाट








