२३ कार्तिक, काठमाडौँ। नायक अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘कृ’ को सुटिङ प्याकअप भएको छ । दसैँभन्दा अगाडिबाटै सुटिङ अवरुद्ध बनेको चलचित्रको छायांकन यसै साता सकिएको हो ।
चलचित्रका निर्मातामध्येका एक सुवास गिरीले चलचित्रको प्रदर्शन मिती फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनले आफ्नो फेसबुकमा चलचित्रको प्रदर्शन मिती माघको २६ गते हुने जानकारी गराएका छन् । यसअघि चलचित्रको प्रदर्शन मिती भदौ, असोज र कार्तिकमा तोकिएको थियो । तर चलचित्रको छायांकन नै नसकिएको कारण कहिले प्रदर्शन हुने भन्ने पक्का भईसकेको थिएन । सुवास गिरी र भुवन केसीले मिलेर बनाएको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
अनमोल ‘कृ’ मा चकलेटी र एंग्र्री अवतारमा देखिएका छन् । अनमोलको लुक्सले यो चलचित्रलाई विशेष बनाइदिएको छ । चलचित्रमा अनमोल केसी, अदिती बुढाथोकी, सरोज खनाल, अनुपविक्रम शाही, कामेश्वर चौरासियालगायतका कलाकारको मुख्य भूमिका छ ।









