‘पद्मावती’को विरोधका बीच अहिले बलिउडमा अर्को फिल्म ‘द गेम अफ अयोध्या’को पनि विरोध सुरु भएको छ । अयोध्याका संतहरुले फिल्मको विरोध गरेका हुन् । संतहरुले यस विवादास्पद फिल्म रिलिजमा रोक नलागे आफूहरु सडकमा उत्रेर आन्दोलन गर्ने चेतावनी दिएको हो । उनीहरुले फिल्म प्रदर्शनमा रोक नलागे पूरै देशभर आन्दोलन गर्ने धम्की दिएको छ ।
८ डिसेम्बरबाट रिलिज हुने फिल्म लिब्राहम कमिशनको रिपोर्टमा आधारित छ । फिल्ममा हिन्दुलाई आँच पुग्ने प्रकारले भगवान रामको मूर्ति स्थापित गरेको देखाइएको आरोप छ । फिल्मको विरोध गर्दै विश्व हिन्दु परिषदले यसलाई सस्तो लोकप्रियता भनेको छ । उता राम जन्मभूमि न्यासका वरिष्ठ सदस्य डा. रामविलास दास वेदांतीले विवादित फिल्म बनाएर फिल्म यूनिटले अन्तर्राष्ट्रिय स्तरमा षड्यन्त्र रचेको बताए । उनले यस फिल्मलाई प्रदर्शित गर्ने सपना नदेख्न निर्मातालाई चेतावनी दिए । फिल्मलाई हिन्दु धर्मसँग सम्बन्धित संस्थाहरुले प्रदर्शनमा रोक लगाउनका लागि सरकारसँग माग समेत गरेका छन् ।









