काठमाडौँ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शुक्रबार अरुण तेस्रोको शिलान्यास गरेका छन्। नेपालको सबैभन्दा ठूलो नौ सय मेगावाटको यस आयोजनाको निर्माण सन् २०२३ सम्ममा सक्ने लगानी बोर्डले जनाएको छ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजना
पञ्चेश्वरको डिपिआर चाँडै टुंग्याउने यसअघिकै सहमतिलाई निरन्तरता दिइएको छ। शुक्रबार दुई प्रधानमन्त्रीबीच पनि डिपिआर चाँडै टुंग्याउने सहमति भयो, तर संयुक्त वक्तव्यमा उल्लेख छैन।
नेपाल प्रहरीको एकेडेमी निर्माण
भारतीय सहयोगमा प्रहरी एकेडेमी निर्माण कार्यान्वयन गर्न ओलीको दिल्ली भ्रमणमा मोदीले आश्वासन दिएका थिए । अहिले पनि दोहोर्याए, तर संयुक्त वक्तव्यमा समेटिएन।
१९५० सन्धि पुनरावलोकन
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले दिने प्रतिवेदनका आधारमा नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दीको यथार्थसँग मेल खाने गरी १९५० को सन्धिलाई अघि बढाउने सहमति भएको छ। द्विपक्षीय वार्तामा यसबारे छलफल भए पनि संयुक्त वक्तव्यमा केही उल्लेख छैन।
काठमाडौं-रक्सौल रेलमार्ग निर्माण
काठमाडौं–रक्सौल रेलमार्ग सर्भे तत्कालै सुरु गर्ने र एक वर्षभित्र डिपिआर तयार गर्ने पूर्वसहमति अघि बढाउन दुवै देश तयार भएका छन्।
भारु सटहीबारे
भारतीय नोटबन्दीका कारण नेपालीलाई परेको अप्ठ्यारो सम्बोधन गर्न नेपालले अनुरोध गरेकोमा भारत सकारात्मक भएको शुक्रबार प्रधानमन्त्री ओलीले बताएका थिए। तर, संयुक्त वक्तव्यमा उल्लेख छैन।
कृषि
कृषि अनुसन्धान, कृषि शिक्षा र कृषि विकासमा सहकार्यको मोडालिटीका लागि नेपाल र भारतका कृषिमन्त्रीहरूको बैठक चाँडै गर्ने सहमति भएको छ। नमुना परियोजना निर्माण गर्ने सहमति पनि भएको छ।
व्यापार सन्धी : नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकन गर्न दुवै प्रधानमन्त्री सहमत भएका छन्। चाँडै वाणिज्य सचिवहरूको बैठक बस्ने सहमति भएको छ।
भक्तपुर क्यान्सर अस्पतालमा नयाँ र अत्याधुनिक रेडियोथेरापी मेसिन भारतले तत्काल पठाउने र तत्कालै जडान गर्ने सहमति पनि भएको छ।
विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने प्रभावकारी मापदण्ड तयार गर्न दुवै देश सहमत भएका छन्। अर्गानिक फार्मिङ र माटोको स्वास्थ्य परीक्षणसम्बन्धी पाइलट प्रोजेक्ट तत्कालै सुरु हुनेछ।
विद्युत सम्झौता : नेपालले भारतसँग गरेको विद्युत् खरिद सम्झौताको पूर्ण कार्यान्वयनमा जोड दिइएको छ । मोदीले सरोकारवालासँग छलफल गरेर भारतीय ऊर्जा बजारमा नेपालको बिजुली बिक्रीसम्बन्धी भारतको विद्यमान प्रावधान सच्याउन कोसिस गर्ने बचन दिएका छन्। दुवै देशबीच इनर्जी बैंकिङलाई अघि बढाउने सहमतिसमेत भएको छ ।
बुटवल–गोरखपुर ४०० केभी विद्युतीय प्रसारण लाइन निर्माणमा दुवैले जोड दिएका छन्। नेपालले आफ्नोतर्फ लाग्ने सबै खर्च बेहोर्ने घोषणा द्विपक्षीय बैठकमा गरेको छ।
वीरगन्जबाहेक थप तीन संयुक्त चेकपोस्ट निर्माणमा जोड दिइएको छ, जनकपुर–जयनगर–बर्दिवासबाहेक थप सीमापार र रेलवे निर्माणमा भारतले प्रतिबद्धता जनाएको छ।
१६ बुँदे संयुक्त विज्ञप्ति : ओलीलाई भारत भ्रमणको निम्ता
मोदीको राजकीय नेपाल भ्रमणको अन्तिम दिन शनिबार नेपाल र भारतबीच १६ बुँदे संयुक्त वक्तव्य जारी भएको छ। वक्तव्यमा प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले भारत भ्रमणको निमन्त्रणा दिएको र ओलीले कूटनीतिक च्यानलमार्फत समय मिलाएर भारत भ्रमण गर्ने जवाफ दिएको उल्लेख छ।
प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार भएको द्विपक्षीय वार्तामा ओलीको गत २३ देखि २५ चैतमा भएको भारतको राजकीय भ्रमणमा भएका छलफलअनुसार विगतमा भएका समझदारी कार्यान्वयनमा जोड दिइएको छ। विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा प्रभावकारी पहल लिने सहमति भएको छ।
कृषि, रेलवे, जलमार्गमा भएका सहमति कार्यान्वयनका लागि प्रभावकारी द्विपक्षीय पहलकदमी लिने सहमति भएको छ।
दुई देशबीच समानता, आपसी विश्वास, सम्मान र आपसी लाभका आधारमा सम्बन्ध थप सुदृढ बनाउने सहमति भएको छ। द्विपक्षीय सम्बन्धहरूको समग्र समीक्षा गर्न परराष्ट्रमन्त्रीस्तरको नेपाल–भारत संयुक्त आयोगसहित द्विपक्षीय संयन्त्रहरूको बैठक राख्न दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
एक महिनाअघि सम्पन्न वाणिज्य सचिवस्तरीय अन्तरसरकारी बैठकमा भएका निर्णयलाई दुवै प्रधानमन्त्रीले स्वागत गरेका छन्। नेपालको बढ्दो व्यापार घाटाबारे भारतका प्रधानमन्त्रीलाई जानकारी गराइएको छ। व्यापार, पारवहन, अनधिकृत व्यापार, भारतको खुला बजारमा नेपालको पहुँचलगायत व्यापार सन्धि र सम्बन्धित सम्झौताहरूको समीक्षा गर्न संयुक्त पहल लिइने भएको छ।
दुई देशबीच थप हवाई, स्थल र जलमार्गबाट कनेक्टिभिटीमा जोड दिइएको छ। नेपालले प्रस्ताव गरेको एयर इन्ट्री रुटबारे विज्ञहरूको बैठकका लागि दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।








