काठमाडौं, १९ जेठ । भिसा तस्करीको अभियोगमा कतारको अदालतले एक नेपालीलाई एक बर्ष जेल र २० हजार रियल (६ लाख रुपैयाँ) जरिवाना सुनाएको छ ।अदालतले तवरेज आलमलाई आउँदो फेब्रुअरी १४ सम्मको जेल सजाय सुनाएको  नेपाली दूतावासले जनाएको छ ।

कतार सरकारले कामदारसँग भिसा शुल्क लिनु र कामदारलाई झुक्याएर ल्याउनु गैरकानुनी भन्दै कारबाही गर्ने गरेको छ । पछिल्लो समय दलालले कतारका रोजगारदाता कम्पनी र नेपालका म्यानपावरसँग मिलेर आजाद भिसाको नाममा कामदारमाथि चरम शोषण गरिरहेका छन् ।

पीडित कामदारहरु ती दलालविरुद्ध प्रहरीमा गएर उजुरी नदिने परीपाटीले उनीहरुलाई कानुनी कारबाहीको दायारमा ल्याउन सकेको छैन । कतारी निकायले भिसा कारोवारमाथि उजुरी गर्न अनुरोध समेत गरेको छ ।

कतारको खोज अनुसन्धान तथा अनुमगन विभागले यस्ता दलालविरुद्ध कारबाही गर्न आफुहरुले कडाई गर्दै आएको जनाएको छ । विभागका अनुसार हालै मात्रै भिसा कारोबार गर्ने ४० जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । उनीहरु माथि २०१५ को कानून नम्बर २१ बमोजिम आप्रवासीको गमन र निश्कासनको नियम उल्लंघन गरेको अभियोग लगाइएको छ ।

विभागका प्रमुख ब्रिगेडर अब्दुल्ला जबेर अल लब्दाका अनुसार अवैध भिसाको व्यापार गर्नेविरुद्धको अनुसन्धान सफल हुँदै गएको छ । ‘आप्रवासी कामदारमाथि हुने शोषण र समस्या समाधानको लागि भिसा कारोबार गर्ने विरुद्ध कारबाही अगाडि बढाइएको हो,’ लब्दाको भनाइ छ । उनले ‘विभागको हटलाइन नम्बर ५०७०१०८९ मा’ अरबी, अंग्रजी र हिन्दी भाषामा’ उजुरी गर्न आग्रह गरे ।

कम्पनीले अर्को कम्पनीमा काम गर्न दिने अधिकार (एनओसी)लाई दुरुपयोग गर्दे दलालहरुले ‘आजाद भिसा’ को नाम दिई नेपाली कामदारमाथि ठुलो शोषण भइरहेको गैरआवसीय नेपाली संघ कतारका उपाध्यक्ष सुदर्शन भट्टले बताए । ‘जताततै आजाद भिसा पीडितहरु भेटिन्छन्,’ उनले भने,‘आजाद भिसामा आउनेलाई सचेतना एकदमै जरुरी छ ।’

दोहामा यस्ता भिसामा गएका झन्डै २ सय नेपाली समस्यामा परेका छन् । आजाद भिसाका दलालविरुद्ध अभियान थालेको कतारमा कार्यरत बीबी खरालले दूतावासले दलालविरुद्ध स्थानीय कानुन अनुसार कारबाहीको लागि कतारी निकायमा उजुरी गर्नुपर्ने बताउँछन् । ‘यहाँ भिसा तस्करीविरुद्ध कारबाही गर्ने कानुन छ । तर त्यस्ता दलालविरुद्ध उजुरी भइरहेको छैन,’ उनले भने ।

कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले बलियो प्रमाण नहुदाँ आधारमा पीडक विरुद्ध उजुरी गर्न नसकिएको वताए । ‘हामीले नेपालका म्यानपावरविरुद्ध कारबाही गर्नको लागि वैदेशिक रोजगार विभागसमक्ष सिफारीस गरेर भने पठाइरहेका छौं,’ उनले भने ।आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia