काठमाडौं । पूर्वराष्ट्रपति डा। रामवरण यादवले चिकित्सकीय सेवामा पुनः फर्कने संकेत गरेका छन् । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारण सभामा बोल्दै उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्नेगरी काम गर्ने सोच बनाएको बताए ।
पूर्वराष्ट्रपति यादवलाई चिकित्सा पेसामा फर्किन सल्लाह दिइरहेको सन्दर्भमा डा। यादवको यस्तो भनाइ आएको हो । उनले आफूले चिकित्सा पेसा अभ्यास नगरेको तीन दशकभन्दा बढी समय भइसकेको समेत बताए ।
डा। यादवले आफू स्वास्थ्यमन्त्री भएका बेला उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल स्थापनाको काम सुरु गरेको बताए । पूर्वराष्ट्रपति डा। यादव राजनीतिमा आउनुभन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक भएर काम गरेका थिए । उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका नाममा सञ्चालित अस्पतालले सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरी आमजनताको मन जित्न सक्नुपर्ने बताए ।
सामुदायिक सहकारी अस्पतालले राजधानीको पशुपतिनाथ मन्दिर परिसरसहित विभिन्न पाँच स्थान, रामेछाप, नुवाकोट दरबार र काभ्रेपलाञ्चोकको पाँचखालमा स्वास्थ्य शिविर सञ्चालन गरेको र स्वास्थ्य सहायक तथा स्टाफ नर्स गरी ५ सय स्वास्थ्यकर्मी उत्पादन गरेको जनाएको छ । न्युरो सर्जरी विभाग खडा गरी सिटिस्क्यान र एमआरआई मेसिनको व्यवस्था गर्ने अस्पतालका अध्यक्ष डा। केदारनरसिंह केसीले बताए ।समाचार राजधानी दैनिकमा छ ।








