पुस १० काठमाडौं । मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी ओली सरकारलाई समर्थन गरेका दलहरूलाई मन्त्रीमा भागबन्डा पुर्याउन दुई मन्त्रालय थपेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले महाभूकम्प र भारतको अघोषित नाकाबन्दीले ऋणात्मक हुन पुगेको मुलुकको अर्थतन्त्रमा बर्सेनि तीन अर्ब रुपैयाँभन्दा बढीको व्ययभार थप्दै जनसंख्या तथा वातावरण र खानेपानी तथा सरसफाइ मन्त्रालय थपेको हो ।प्रधानमन्त्री ओलीले संविधानबमोजिम मन्त्रालय र मन्त्रीको संख्या घटाउनुपर्नेमा उल्टै संवैधानिक प्रावधानको पालना गर्ने राजनीतिक तथा नैतिक दायित्व बिर्सेर मन्त्रालय संख्या बढाएका हुन् । प्रशासन सुधार आयोग २०४८, सार्वजनिक खर्च पुनरावलोकन आयोग २०५७ सहित विभिन्न अध्ययनले मन्त्रालय संख्या घटाएर १८ वटामा सीमित राख्न दिएको सुझावलाई समेत सरकारले लत्याएको छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।








