काठमाडौं । पानीजहाज स्टेसन (टर्मिनल) का लागि गण्डक ब्यारेज नजिकैको बी गैंप बाँधको १२ नम्बर ठोकर उपयुक्त देखिएको छ। नेपालमा पानीजहाज सञ्चालनको सम्भाव्यताका लागि नवलपरासी हुँदै बग्ने गण्डक नदी ९नारायणी नदी० को अध्ययन गर्न खटिएको दुई देशको समितिले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ मा रहेको १२ नं। ठोकर पानीजहाज स्टेसन हुन सक्ने औंल्याएको हो।
भारतको अन्तर्राष्ट्रिय जलमार्ग प्राधिकरणका वरिष्ठ अधिकारी प्रवीण पाण्डे र जल तथा ऊर्जा आयोगका सहसचिव एवम् जलमार्ग अध्ययन समितिका संयोजक माधव बेलबासेसहितको टोलीले गण्डक नदीको गहिराइ र यसमा बग्ने पानीले पानीजहाज चलाउन सकिने निष्कर्ष निकालेको हो। संयोजक बेलबासेले पहिलो चरणमा गरिएको अध्ययनमा स्टेसनकालागि १२ नं। ठोकर उपयुक्त भएको बताए।

गण्डक नहर निर्माणका क्रममा भारत सरकारले १२ नं। ठोकर बनाएको हो। ठोकर त्रिवेणीस्थित मुख्य गण्डक ब्यारेजदेखि करिब दुई किमि तल छ। दुई देशको प्राविधिक समितिले पानीजहाजका लागि गण्डक ब्यारेज र १२ नं। ठोकरको अध्ययन गरेको थियो।
गण्डक ब्यारेजबाट दासढुंगासम्म पानीजहाज लैजान सकिने समितिको निष्कर्ष छ। दासढुंगामा पनि अर्को स्टेसन रहन सक्ने सम्भावना देखिएको बेलबासेले जानकारी दिए। ‘तेस्रो स्टेसनका रूपमा भरतपुर वा पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा पर्ने नारायणी नदीको कुनै स्थान हुन सक्छ,’ बेलबासेले भने।
गण्डक ब्यारेज पुल।
भारतबाट मालसामान बोक्ने पानीजहाजका लागि १२ नं। ठोकर उपयुक्त छ। त्यसैगरी काठमाडौं र पोखराका लागि दासढुंगा उपयुक्त छ भने पूर्वदेखि पश्चिम क्षेत्रका लागि कावासोती वा भरतपुर पानीजहाजको स्टेसन उपयुक्त रहेको समितिले जनाएको छ। ब्यारेजदेखि दासढुंगासम्मको जलयात्राको दुरी एक सय किमि छ।
दासढुंगासम्म पानीजहाज लैजानका लागि गण्डक ब्यारेजले भने अवरोध गर्नेछ। त्यसका लागि ब्यारेजदेखि करिब दुई सय मिटर तल रहेको ‘बाइपास च्यानल’ बाट पानीजहाज लैजान सकिने बेलबासेले बताए। उक्त ‘बाइपास च्यानल’ ले भारतले पहिल्यै विकास गरेकाले समस्या नरहेको उनले जानकारी दिए। बनारससम्म डुंगा लैजान ‘बाइपास च्यानल’ निर्माण गरिएको हो। बाइपासबाट लगिने पानीजहाज गण्डक नहर हुँदै ब्यारेजको माथिल्लो भागमा पुर्याइनेछ।
भारतले गंगा र सहायक नदी गरी एक सय ११ वटा नदीलाई जलमार्गका रूपमा प्राथमिकतामा राखेको छ। गण्डक नदी सोही प्राथमिकतामा छ।
नेपाल र भारत पक्षका प्राविधिकसहितको टोलीले सन् २०१८ को पहिलो बैठकमा पानीजहाजका लागि दुई देशका नदीको अध्ययन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार भारतका प्राविधिकसहितको टोली गण्डक नदी अध्ययनका लागि आएको बेलबासेले जानकारी दिए। बेलबासेका अनुसार पहिलो फेजमा १।२ मिटर गहिराइमा एक सय मेट्रिक टनको जहाज चलाउन सकिने गरी डिपिआर तयार भएको छ। त्यसलाई कार्यान्वयन गर्न दुई देशका प्रतिनिधि गण्डक नदीको सम्भाव्यता अध्ययन गर्न आएको उनले बताए। भारतले जति छिटो काम अघि बढाउँछ त्यति नै छिटो गरेर नेपालले पानीजहाजका लागि प्रक्रिया अघि बढाउने बेलबासेले जानकारी दिए।
पानीजहाज सञ्चालनका लागि गण्डक नदीको सम्भाव्यता अध्ययनमा नेपाल–भारतका प्राविधिकसहितको सरकारी टोली।
नेपाललाई समुद्रसम्म पहुँच पुर्याउन जलमार्गको सम्भाव्यता सुरु गरिएको हो। गण्डकबाट समुद्रसँग जोडिने दुरी करिब एक हजार एक सय ५० छ। जसमा गंगा नदीमा जोडिन तीन सय किमि छ। गंगा नदीबाट समुद्रमा जोडिन करिब आठ सय ५० किमि दुरी रहेको अध्ययन समितिले जनाएको छ। पानीजहाज सञ्चालन भएमा गंगा नदीदेखि कलकत्ता भएर सुन्दरवन हुँदै बंगलादेशसम्म पुग्न सकिने समितिले जनाएको छ।
सरकारले नेपालमा पानीजहाज चलाउन सकिने योजनालाई महात्त्वाकांक्षी परियोजनाका रूपमा लिएको छ। पानीजहाज सञ्चालनका लागि योजना बनाउन, अध्ययन गर्न र प्रक्रिया अघि बढाउन सरकारले कार्यालयसमेत स्थापना गरिसकेको छ। गण्डक नदी अवलोकनपछि टोलीले कोसी नदीको पनि सम्भाव्यता अध्ययन गर्नेछ। दुई नदीको सम्भाव्यता अध्ययनपछि बिहीबार र शुक्रबार बस्ने टोलीले प्रतिवेदनसहित भाबी योजनाबारे निष्कर्ष निकाल्ने समितिले जनाएको।
अध्ययन टोलीमा नेपालका तर्फबाट जलस्रोत, भौतिक तथा पूर्वाधार, वाणिज्य, परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी छन् भने भारतको तर्फबाट जलयातायात प्राधिकरण, भारतीय दूतावास, भन्सार विभागलगायतका अधिकारी सहभागी छन्। अन्नपूर्णबाट ।









