काठमाडौं : मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम मिया अन्सारीलाई ‘जस्केला’ बाट नियुक्तिको बाटो खोलिदिने संसदीय सुनुवाइ समितिको अकर्मण्यताप्रति संविधानविद्हरूले असन्तुष्टि जनाएका छन् । नागरिकता र शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका अन्सारीलाई ४५ दिने म्याद कटाएर समितिले स्वतः नियुक्तिको बाटो खोलिदिनु ‘संविधानमाथिको जालझेल’ भएको उनीहरूको तर्क छ ।

सत्तासीन नेकपाभित्रै दुई धार देखिएपछि समितिले ४५ दिने म्याद कटाएर अन्सारी नियुक्तिको बाटो खोलिदिएको हो । ‘सिफारिस व्यक्तिका विषयमा यति धेरै प्रश्न उठिसकेपछि त्यसको निराकरण नगरी स्वतः नियुक्तिको बाटो खोलिदिनु संविधानमाथिको जालझेल हो,’ संविधानविद् राधेश्याम अधिकारीले अन्नपूर्णसँग भने, ‘एकातिर समितिबाट बेथितिको सुरुवात भएको छ भने अर्कोतर्फ समितिले कर्तव्य पालना गर्न नसकेर अकर्मण्यता देखाएको छ ।’

नागरिकता र शैक्षिक प्रमाणपत्रमा विवादास्पद देखिएका अन्सारीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता सुनुवाइ समितिबाट अस्वीकृत गर्ने पक्षमा थिए । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीनिकट सांसद अन्सारीलाई अस्वीकृत गर्न तयार नभएपछि समितिले ४५ दिने म्याद कटाउने उपाय निकालेको हो । संवैधानिक परिषद्ले सिफारिस गरेको ४५ दिनभित्र सुनुवाइ समितिले निर्णय नगरे नियुक्तिका लागि बाधा नपुग्ने संघीय संसद्को संयुक्त कार्यसञ्चालन नियमावलीमा व्यवस्था छ । संवैधानिक परिषद्ले अन्सारीको सिफारिस गरेको फागुन २५ गते (शनिबार) ४५ दिन पुग्दै छ ।

वरिष्ठ नेता नेपाल पक्षधर सुरेन्द्र पाण्डे र योगेश भट्टराईले स्वैच्छिक रूपमा आफ्नो सिफारिस फिर्ता लिन अन्सारीलाई मंगलबारको समिति बैठकमै आग्रह गरेका थिए । तर, अन्सारीले आफू कुनै पनि हालतमा पछि नहट्ने अडान लिएका थिए । प्रधानमन्त्री ओली पक्षधर सुमन प्याकुरेल र पार्वत गुरुङले अन्सारीविरुद्ध एक शब्द पनि नबोलेपछि सत्तासीन नेकपाभित्रै सहमति जुट्न सकेन ।

सत्तासीन नेकपाभित्र एकमत जुट्न नसक्नु र अर्को सत्तासीन फोरमले समिति बहिष्कार गरेपछि सुनुवाइ समितिले ४५ दिने म्याद कटाउन कसरत गरेको हो । म्याद कटाउने उद्देश्यले नै सुनुवाइ समितिको मंगलबारको बैठकले अन्सारी, उनका बुवा र आमाको नागरिकताबारे थप प्रमाण बुझ्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्ने निर्णय गरेको छ । अन्नपुर्ण पोष्टबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia