बारा:असिनापानीसँगै आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीमा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने ४ सयभन्दा बढी घाइते छन् । बाराको फेटा गाउँपालिकाको करिब २ सय किमिको सेरोफेरोमा सर्वाधिक जनधनको क्षति भएको छ । आधा घण्टामा करिब १८ किमि विध्वंसकारी याक्रा गरेको शत्तिशाली हुरीले प्रत्येक बस्ती करिब ३ मिनेटमै तहसनहस बनाएको हो ।
६२ वर्षे महन्थ रामलाई लागेको थियो– आइतबार साँझको हावाहुरी पनि अघिल्ला चैतहरूको झैं सामान्य नै होला । साँझ ७ बजे सुरु भएको असिनापानीसहितको हुरी नथामिए पनि त्यसले खासै क्षति पुर्याएको थिएन । जब सवा ७ बज्यो, घरको पश्चिमतर्फबाट अचानक ठूलो बबन्डर आयो । सुरुमा पश्चिम, त्यसपछि पूर्व र उत्तरबाट चल्न थालेको भुमरी करिब ३ मिनेटको मात्र थियो । तर त्यही ३ मिनेटमा गाउँमा महाविनाश मच्चियो । बस्ती पूरै उजाडियो ।

‘सामान्यै त होला भनेर हिम्मत गरेर घरबाट निस्किएको थिएँ,’ बारा चैनपुरका रामले भने, ‘हावाको झोक्का यति तातो अनुभव गरेँ जुन यसअघि जीवनमा कहिल्यै महसुस गरेको थिइनँ । हेर्दाहेर्दै गाउँका ३ सय घरका छाना र भित्ता केही बाँकी रहेनन् । पक्की घरका छाना र पर्खाल पनि खसे ।’ सोही गाउँका ७५ वर्षीय वृद्ध हिरामन महराको मुटु अझै काँपिरहेको छ ।
जीवनमै यस्तो शक्तिशाली हुरी नभोगेका उनले २ घर गुमाए । पाकिसकेको गहुँ पनि असिनाले पिटेर सोत्तर बनायो । ‘न घर रह्यो, न खानलाई अन्न,’ उनले चिन्तित हुँदै भने, ‘अब कहाँ टाउको लुकाउने, केको रोटी खाने, १२ जनाको परिवारमा मुखमा माड नलाग्ने स्थिति आयो ।’ विनाशकारी हुरीपछि पर्सासँग जोडिएको बाराको पश्चिमी गाउँपालिका परवानीपुर–४ का अधिकांश घरमा चुलो बलेन । खाना पाकिसकेकाहरूले पनि खान पाएनन् ।
अधिकांश घर भत्केको र छानो उडेकाले स्थानीयले खुला आकाशमुनि सुत्नुपर्यो । एकाध पक्की घर मात्र जोगिए ।यो गाउँभन्दा पश्चिममा रहेको पर्साको वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरवासीको पीडा पनि कम दर्दनाक छैन । स्थानीय राजकुमार पटेलले आफ्नो गाउँमा त ३ मिनेट पनि भुमरीसहितको हुरी आएको थिएन । ‘हाम्रो गाउँमा भुमरी यस्तै १ मिनेटभन्दा लामो थिएन होला,’ उनले भने, ‘सुरुमा बिस्तारै आयो, त्यसपछि एकदमै तीव्र भयो । तर त्यति छोटो अवधिमै मेरा २ वटै घरका छानो उडाएर लग्यो । परिवारै रातभर खुला आकाशमुनि सुतेका छौं । खाना पनि छिमेकीले खुवाए ।’
शक्तिशाली हुरी आउँदा ६० वर्षीया फुलमन खातुन घरमै थिइन् । अचानक आएको त्यो विपत्तिले उनको पनि घरको छानो उडाएर लग्यो । ‘घरमा खाना पाक्दै थियो, बीचमै तबाही भयो,’ उनले भनिन्, ‘मैले जीवनमै यस्तो विनाशकारी बबन्डर देखेकी थिइनँ ।’ शक्तिशाली हुरीले गाउँका करिब सय घरमा क्षति पुर्याएको छ । यो क्षेत्र हुँदै पूर्वतर्फ अघि बढेको हुरीले चाचान समूहको दाल र तेल मिलका साथै सिमेन्ट उद्योग, कलश सिमेन्ट र विश्वकर्मा सिमेन्टका उद्योगमा पनि क्षति पुर्याएको छ ।
त्यसपछि त्रिभुवन राजपथमा गुडिरहेका र छेउछाउमा पार्किङ गरिराखेका भारी मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई पल्टाउँदै बाराको चैनपुर गाउँतर्फ हान्निएको हुरीले त्यहाँबाट पनि पूर्वतर्फ बाराको भलुही भरबलिया हुँदै फेटा गाउँमा पुगेर सर्वाधिक विध्वंश्स मच्चाएको थियो । शक्तिशाली हुरीले आधा घण्टामा करिब १८ किमि विध्वंसकारी यात्रा गरेको थियो ।
अधिकांशको मृत्यु च्यापिएर
बाराको फेटामा करिब दुई मिनेट चलेको हुरीले कच्ची र पक्की घरसमेत भत्काएको छ । अधिकांशको घरभित्रै च्यापिएर मृत्यु भएको स्थानीयले बताए । ‘हुरी साँझको खाना पकाउने र खाने बेला ७ बजेतिर चलेको थियो ।
जोगिने मौकै मिलेन । एकैछिनमा कहिल्यै नबिर्सिने काल आयो,’ श्रीमती र बुहारी गुमाएका फेटा ६, पुरैनियाका ५५ वर्षीय फेजुल हक मियाँले भने, ‘यस्तो शक्तिशाली भुमरी कहिल्यै देखेको थिइनँ । तीन वर्षअघिको विनाशकारी भूकम्पभन्दा पनि खतरनाक र शक्तिशाली थियो ।’
फेटा १, भरबलियाका ४५ वर्षीय अमरसिंह पटेलले खोलामा आएको बाढीझैं केही क्षणको हुरीबतासले गाउँ तहसनहस बनाएको बताए । बाँगिएर हुरी चलेको उनले सुनाए । ‘घरअगाडिको घुम्ती पसलमा गाउँलेसित बसेर गफ गर्दै थियौं, बेजोडसँग हावा चल्न थाल्यो,’ उनले भने, ‘कसैले कसैलाई नदेख्ने अवस्था बन्यो ।’पुरैनियाकै ७० वर्षीय जागिर मियाँका अनुसार घरबाट निस्कनै नपाएका कारण मानवीय क्षति बढी भएको बताए । ‘म, छोरी र ३ नातिनातिना भगवानको नाम जपेर बाँच्यौं,’ उनले भने, ‘घर पूरै भत्किएको छ ।’ कान्तिपुरबाट ।









