काठमाडौं । चीनको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा राजनीतिक स्थिरतासँगै लगानीमैत्री वातावरण भएकाले चिनियाँ उद्योग तथा लगानीकर्तालाई लगानीका लागि आग्रह गरेकी छन् । आइतबार नेपाल चीन ट्रेड इकोनोमिक फोरमलाई सम्बोधन गर्दै उनले नेपालले समृद्ध मुलुक निर्माणका लागि विदेशी लगानीकर्ताका लागि उपयुक्त वातावरण तयार गरेको बताइन् । उनले चिनियाँ लगानीकर्ताका लागि विशेष प्राथमिकतामा राखिएकोसमेत बताएकी थिइन् । सो कार्यक्रमा नेपाल र चीनका उद्योगपति, उद्यमी तथा लगानीकर्ताको उपस्थिति थियो ।

भण्डारीले नेपाल सरकारले आर्थिक उन्नतिका लागि समृद्ध मुलुक सुखी नेपालीको अवधारणा अघि सारेको बताइन् ।‘नेपालमा अहिले लगानीको उत्कृष्ट वातावरण रहेको छ । नेपालमा प्राकृतिक स्रोत, राजनीतिक स्थिरता र लगानीमैत्री वातावरणका लागि लगानीकर्ताका लागि अवसरै अवसर छ,’ उनले भनिन्, ‘एकद्वार प्रणालीबाट विदेशी लगानीकर्तालाई सहजीकरण गरिरहेका छौं ।’
भण्डारीले नेपालमा बहुराष्ट्रिय कम्पनीहरूले उदार कर प्रणालीबाट फाइदा लिइरहेको बताएकी थिइन् ।त्यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलले विदेशी लगानीका लागि नेपालमा अवसर रहेको बताउँदै चिनियाँ उद्यमीलाई यसको फाइदा लिन अनुरोध गरे । ‘नेपालमा हाइड्रोपावर, आर्यवेद, कृषिजन्य उद्योगमा लगानीको अवसर छ,’ उनले भने । उनले ‘नेपालमा असीमित अवसरहरूको भूमि’ पुस्तकसमेत विमोचन गरेका थिए । लगानी र व्यावसायिक अवसरको विषयमा जानकारी दिने उद्देश्यले नेपाली दूतावासले पुस्तक प्रकाशन गरेको हो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत माहप्रसाद अधिकारीले लगानीका लागि उपयुक्त नीति नियम तय गरेको बताए । एफएमसीसीआई, सीएनआई, एनसीसीसीका प्रतिनिधिले चिनियाँ लगानीकर्तासँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएका थिए ।
‘नेपालमा प्राकृतिक स्रोत, राजनीतिक स्थिरता र लगानीमैत्री वातावरणका लागि लगानीकर्ताका लागि अवसरै अवसर छ’
– विद्यादेवी भण्डारी, राष्ट्रपति
नेपाल लगानी बोर्ड र चाइना ओभरसिज डेभलपमेन्ट एसोसीएसनबीच नेपाल र चीनका संस्थाबीच समन्वयन प्रवद्र्धन गर्ने विषयमा सम्झौतासमेत भएको थियो । आइतबारै राष्ट्रपति भण्डारीले बेइजिङको सेतो प्यागोडाको अवलोकन गरेकी थिइन् । सो प्यागोडा १३औं शताब्दीमा नेपालका अरनिकोले बनाएका थिए । सो प्यागोडो नेपाल र चीनको पुरानो सम्बन्धलाई झल्काउने बताइएको छ । नौ दिने भ्रमणका लागि चीन पुगेकी राष्ट्रपति भण्डारी १९ वैशाखमा स्वदेश फर्किने कार्यक्रम छ ।
नेपालबाट लगिएको बिरुवा बेइजिङमा रोपियो
नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणका दौरानमा आइतबार अन्तर्राष्ट्रिय होरिकल्चर प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी भएकी थिइन् । बेइजिङमा भएको सो कार्यक्रममा भण्डारीले लुम्बिनी शान्ति वाटिको उद्घाटनसमेत गरिन् । सो अवसरमा उनले नेपालबाट ल्याइएका बिरुवा वृक्षरोपण गरेकी थिइन् ।
त्यस्तै, सो कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलको उपस्थिति थियो ।
नेपाल–चीन क्रस बोर्डर रेलवे प्राथमिकतामा
चीनको राजधानी बेइजिङमा सम्पन्न भएको दोस्रो रोल्ड एनड बेल्ट एनिसिएटिभ अन्तर्राष्ट्रिय फोरमले ३८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । विभिन्न ४० मुलुकका राष्ट्रप्रमुखसहित ५ हजारको सहभागिता रहेको सो फोरमपछि नेपाल–चीनको सम्बन्ध अझ प्रगाढ भएको विश्लेषण गरिएको छ ।
३८ बुँदे सामूहिक प्रतिबद्धतामा नेपालको प्रस्तावलाई महŒवसाथ समावेश गरिएको छ । इकोनोमिक कोरिडोर तथा कनेक्टिभिटीसँग सम्बन्धित परियोजनामा नेपालको प्रस्तावलाई प्राथमितासाथ समेटिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन ट्रान्स हिमालयन मल्टी डायमेन्सनका कनेक्टिभिटी नेटवर्कअन्तर्गत नेपाल–चीन क्रस बोर्डर रेलवेको विषयलाई आफ्नो सम्बोधनमा प्राथमिकता दिएकी थिइन् ।
बीआरआई परियोजनामा नेपाललाई यसपटक स्पष्टसँग समेटिनुले पनि चीनले नेपाललाई थप महŒव दिएको देखिन्छ ।
यो फोरमबाट नेपाल औपचारिक रूपमै बीआरआईमा समेटिएको मात्र छैन, सरकारको नेपाल–चीन रेलवे ल्याउने सपनासमेत साकार हुने संकेत देखिएको छ ।
भण्डारीले चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको भेटमा नेपालको हिमालपार कनेक्टिभिटी र जलवायु परिवर्तनको विषयलाई फोकस गरेकी थिइन् । यसलाई ३८ नम्बर बुँदामा महŒवका साथ समावेश गरिएको छ भने दिगो विकास लक्ष्य हासिलका लागि समेत कार्यगत एकता गर्ने उल्लेख छ । राजधानीबाट ।









