काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) की प्रमुख मिसेल ब्याचलेटले नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा रहेको बताएकी छन् । जेनेभामा भएको राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै ब्याचलेटले नेपालमा न्याय निरूपणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेकी छन् । शान्ति प्रक्रिया सुरु भएको १३ वर्ष पूरा हुँदा पनि नेपालमा संक्रमणकालीन न्याय निरूपण टुंगोमा पुग्न नसकेको भन्दै राष्ट्रसंघले चिन्ता प्रकट गरेको हो ।

ब्याचलेटले नेपाल सरकारलाई संक्रमणकालीन न्याय प्रक्रियामा विश्वासको वातावरण बनाउनसमेत आग्रह गरिन् । ‘संक्रमणकालीन न्याय निरूपणलाई टुंगोमा पुर्याउन नेपाल सरकारले असल नियत राखेर द्वन्द्वपीडित र नागरिक समाज सम्मिलित बृहत् छलफल अघि बढाउनुपर्छ,’ उनले भनेकी छन् ।बैठकलाई नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मंगलबार सम्बोधन गरेका थिए । ज्ञवालीले द्वन्द्वकालका मानवअधिकार उल्लंघनका घटना हेर्ने सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा नयाँ पदाधिकारीहरू नियुक्त गरिएको र उनीहरूले आफ्नो काम अघि बढाएको जानकारी गराएका थिए । अजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।








