काठमाडौं । कतारले कोरोनाको कारण देखाउँदै नेपालसहित १५ वटा मुलुकका नागिरकलाई अर्को सूचना जारी नभएसम्मलाई प्रवेश रोक लगाएपछि नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले काठमाडौंबाट हुने नियमित उडान स्थगन गरेका छन् । सातामा ५ वटा काठमाडौं दोहा उडान गर्दै आएको हिमालय एयरलायन्सले सोमबारदेखि उडान स्थगन गरेको हो। हिमालयले अर्को सूचना जारी नहुन्जेललाई आफ्ना दोहाका लागि हुने सबै उडान स्थगन हुने भनेको छ।

यसैबिच नेपाल वायुसेवा निगमले पनि मंगलबार विज्ञप्ति जारी गर्दै ‘कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको’ सूचना जारी गरेको छ।‘कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएको र ती १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपालीहरु पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको हो,’ निगमले जारी गरेको विज्ञप्तिमा भनेको छ। निगमले सातामा ७ वटा उडान गर्दै आएको थियो।

उसले ०७६ फागुन २६ गते र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने भनेको छ। त्यस्तै टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था पनि सूचनामा राखेको छ।

त्यस्तै दोहाबाट काठमाडौंमा दैनिक तीनवटा उडान गर्दै आएको कतार एयरवेजले भने आफ्ना कुनैपनि उडान कटौती गरेको छैन। ‘कतारमा पस्न पाइएन तर कुनै पनि नेपालीले दोहा हुँदै अर्को मुलुक जान भने रोकिएको छैन,’ काठमाडौंस्थित कतारका एक नेपाली अधिकारीले भने। तर नेपालमा बसोबास गरिरहेको कुनै पनि नेपाली वा अन्य मुलुकका नागरिकलाई हाललाई कतार प्रवेशमा रोक लगाइएको बताए। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia