इनरुवा। नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ ले केही अन्लाईनहरुमा आएको अपुष्ट समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ । महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासले नेपालसहित विश्व समुदाय नै अहिले त्रसित भइरहेका बखत केहि अन्लाईनमा आएको अपुष्ट खबरले मुस्लिम समुदायसहित सबैलाई त्रसित बनाउने काम गरेको नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इसराइल मन्सुरीको भनाइ छ ।

भारतको राजधानी दिल्लीको निजामुद्दिनमा ‘तबलिगी ए जमात’ को कार्यक्रममा नेपालबाट सहभागी भएका मुस्लिम दाजुभाइमध्ये केहीदिन पहिले केही व्यक्ति सुनसरी सदरमुकाम इनरुवा आएको भन्ने खबर गलत भएको मुस्लिम संघले बिहीबार निकालेको बिज्ञप्तिमा उल्लेख छ । उक्त कार्यक्रममा सहभागी भएका सुनसरीका तीनजना व्यक्ति मार्च ११ तारीख अर्थात २० दिनअघि नै नेपाल प्रवेश गरेको र उहाँहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेपनि होम क्वारेन्टाइनमा छुट्टै राखिएको र सुनसरी प्रहरी लगायत सम्बन्ध निकायले उहाँहरुलाई क्वारेन्टाइन पठाउने वा न पठाउने भन्नेबारे निर्णय गर्ने मुस्लिम संघले जनाएको छ । साथै उक्त कार्यक्रममा सहभागी भएका भनिएका थप व्यक्तिहरु नेपाल प्रवेश गरेको वा न गरेको बारेमा हालसम्म यकिन भइनसकेको अवस्था भएकोले आधिकारिक निकायबाट पुष्टि गरेमात्र खबर सम्प्रेषण गर्न नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ ले आग्रह गरेको छ ।
नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इसराइल मन्सुरी र सचिव नइम अन्सारीले हस्ताक्षर गरेको उक्त बिज्ञप्तिमा १ नम्बर प्रदेशका मुस्लिम दाजुभाइ तथा दिदीबहिनीका साथै सबैमा संकटको बेला कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकार,प्रदेश सरकार,स्थानीय तह,सुरक्षा निकाय,स्वास्थ्यकर्मीलाई आ आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्न अनुरोध समेत गरिएको छ ।
सरकार गरेको लकडाउनको पूर्ण पाल्ना गर्दै कोरोना संक्रमण फैलिने त्रास यथावत रहेसम्म मस्जिद,मदरसा वा अन्य कुनै धार्मिकस्थलमा भिडभाड न गरी पालैपालो शुक्रबार मुस्लिम दाजुभाइले पढ्ने जुम्माको नमाजका साथै सबै प्रकारका नमाज मस्जिदमा वा सकभर आ आफ्नै घरमा पढ्न सो बिज्ञप्तिमा उल्लेख गरिएको छ् । नेपाल सरकारको निर्देशनअनुसार १ नम्बर प्रदेशका मुस्लिम बालबालिका अध्ययन गर्ने मदरसा,बनाथ लगायत सबै प्रकारका बिद्यालयमा अध्ययन /अध्यापन बन्द भइसकेको र नेपाली मुस्लिम समुदाय संकटको समयमा सदाझैं यसपटक समेत नेपाल सरकार,सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको साथमा भएको मुस्लिम संघले बिज्ञप्तिमार्फत बताएको छ । भारत वा अन्य कुनै देशबाट आएका कोही कोरोना संक्रमित व्यक्ति भेटिएमा तत्काल नजिकै सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई खबर गर्न नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ ले आग्रह गरेको छ ।
https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0








