कैलालीको धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया दीपा शाही ३५ दिन अस्पताल बसिन्। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि उनले अस्पतालको आइसोलेसन वार्डमा ती दिन बिताउन बाध्य भइन्।चैत २२ गते उनमा पहिलो पटक कोरोना संक्रमण देखियो। सोही दिन उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन्।अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत शाहीको ६ पटकसम्म कोरोना परीक्षण गरिएको थियो।

थ्रोट स्वाब परीक्षणबाट पछिल्लो दुई पटक उनको रिपोर्ट आएको थियो। शाही नेपालमै पहिलो पटक स्थानीयस्तरबाट कोरोना संक्रमण भएकी महिला हुन्। उनलाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमणले दोस्रो चरण प्रवेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घोषणा गरेको थियो। लगातार दुई पटक कोरोना रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनलाई डिस्चार्ज गरिएको हो। दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उनी निकै हर्षित भइन्। कोरोनालाई जितेर घर फर्किएकी शाही अस्पतालबाट डिस्चार्ज हुँदा आफूलाई एकदमै खुसी महसुस भएको बताउँछिन्। ‘अहिले निको भएर घर फर्किएकी छु। एकदमै खुसी लागिरहेको छ,’ उनले भनिन्, ‘मैले हिम्मत हारिनँ र जितेर घर फर्किएँ।’ अस्पतालका डाक्टरहरूले ‘तपाईंको दुई वटा रिपोर्ट ‘नेगेटिभ’ आएको छ, आज तपाईँ घर जाँदै हुनुहुन्छ’ भन्दा उनलाई विश्वास लागेन। किनकि ६ पटकसम्म उनको रिपोर्ट ‘पोजेटिभ’ आएको थियो। थाहा खबरको सहयोगमा










