काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।प्रदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पस अगाडि आज बिहान अनेरास्ववियूका विद्यार्थी नेताहरूले शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।उनीहरूले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन् ।
शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए ।निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने विद्यार्थी नेताको तर्क छ ।शिक्षामन्त्रीको पुत्ला दहनपछि सञ्चारकर्मीहरुसँग बोल्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको साटो मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिई कमिसन खान लागेको आरोप लगाए ।उनले शिक्षामन्त्रीले जनक शिक्षा सामग्रीलाई बचाउनुको सट्टा मास्ने गतिविधि गरेको आरोप लगाए ।अध्यक्ष पराजुलीले सरकार बनेको छोटो समयमै गलत निर्णय भएको भन्दै त्यसलाई आफूहरुले स्वीकार्न नसक्ने बताए ।सरकारको लगानीमा निर्माण भएका संस्थाहरु निजीकरण गर्दै दलालहरुलाई दिने षडयन्त्र रचिएको भन्दै शिक्षामन्त्रीले आफ्नो पहिलो निर्णय नै जनतालाई भार बोकाउने निर्णय गरेको बताए ।उनले जनक शिक्षाका प्रवन्ध निर्देशक अनिलकुमार झालाई अनुसन्धान गरेर कारबाही गर्नु र व्यवस्थालाई सुधार गर्नुको ठाउँमा निजी क्षेत्रलाई पुस्तक छपाउन दिई कमिसन खाने खेल रचेको आरोप लगाए ।उनले जनक शिक्षा सामग्री केन्द्रलाई बलियो, सशक्त र गरिब जनताका छोराछोरीको हातमा पुस्तक समयमा नै पुग्नेगरि काम गर्न आग्रहसमेत गरे ।