इनरुवा। बैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरीसंग अभिमुखीकरण गरेको छ । बैदेशिक रोजगारी सम्बन्धि समस्या, ठगी र उजुरीका विषयमा प्रहरीको भुमिका बारेमा अन्तरक्रिया सहित अभिमुखीकरण गरेको हो । अभिमुखिकरण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी नायव उपरीक्षक राजकुमार राई, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दसरथ राई, सामीका प्रदेश कार्यक्रम अधिकृत देवनारायण चौधरी, सुनसरी संयोजक धिरज भट्टराई लगायतकाले प्रशिक्षण दिनुभएको थियो । सुरक्षा निकायका मुद्धा चल्ने सबै इलाका प्रहरी कार्यालयका गरि तीन दर्जन बढी प्रहरीहरुको सहभागिता थियो । सुनसरीमा धरान र इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा सामी कार्यक्रम सञ्चालित रहेको सुनसरी संयोजक धिरज भट्टराईले जानकारी दिनुहुदै बैदेशिक रोजगारी सम्बन्धि समस्या, ठगी र उजुरीका विषयमा नेपाल प्रहरीको भुमिका महत्वपूर्ण रहेकाले अभिमुखिकरण गरिएको बताउनुभयो ।

अभिमुखीकरणमा बैदेशिक रोजगारको अवसर, चुनौती सहित सामी कार्यक्रमको उपलब्धि, समस्या र समाधानका प्रयासबारे जानकारी गराएको थियो । त्यसक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले वैदेशिक रोजगारी सम्बन्धि थुप्रै समस्या रहेको बताउँनुहुदै सुनसरीबाट खाडी मुलुक समेलेसिया, साउदी कतार जाने मानिसहरुको संख्या तुलनात्मकरुपमा बढी जाने भएकाले उजुरी पनि बढी नै आउने गरेको बताउनुभयो । उहाँले ठगी सम्बन्धि समस्यामा छलफल गराउने, पैसा दिलाउने, मिलापत्र गराउने काम गरिरहेको जानकारी गराउँदै समाधान हुन नसकेका विषय बैदेशिक रोजगार विभागमा पठाइने गरेको बताउनुभयो । प्रजिअले हेर्ने सबालहरुका बारेमा समेत प्रस्तुतिकरण राख्नुभएको थियो । प्रहरी नायव उपरीक्षक राईले बैदेशिक रोजगारीसंग सम्बन्धि समस्या र उजुरीहरुलाई प्राथमिकताका साथ हेरिरहेको बताउनुहुदै कार्यक्रमबाटै ठगी र मानवबेचखिनसंग जोडिएका मुद्धामा ध्यान दिएर अनुसंधान गर्न मातहतका निकायलाई आग्रह गर्नुभयो । बैदेशिक रोजागारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित र शोषणरहित बनाउन नेपाल प्रहरीको भूमिकाका विषयमा उहाँले प्रस्तुतिकरण समेत गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्नुहुदै इनरुवा नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत दशरथ राईले यो कार्यक्रमले बैदेशिक रोजगारीमा रहेकाहरुलाई जोखिमबाट बचाउन सहयोग पुग्ने र जान लागेका लाई शिपसिकेर मात्रै जान प्रेरणा दिएको विश्वास व्यक्त गर्नुभयो । राईले बैदेशिक रोजगारीमा जानेहरुको रहर नभई बाध्यता रहेकाले कुनै पनि बहानामा ठगिन नहुने बताउनुभयो । उहाँले विदेश जानै पर्दा सीप सिकेर मात्र जान नागरिकहरुलाई आग्रह गर्दैै अन्यथा दुःख व्यहार्ने अवस्था सिर्जना हुने बारेमा सामीले कार्यक्रम गर्दै आएको र त्यसमा प्रहरीले थप प्रचारप्रसार गरेको खण्डमा ठगीने क्रम कम हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत राईले बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सबैको भूमिका आवश्यक रहेको बताउनुभयो ।
बैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तब्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप, परामर्श लगायतका सहयोग प्रदान गर्ने, बैदेशिक रोजगारीमा सम्बद्ध निकायहरुको क्षमता अभिबृद्धि गरी बैदेशिक रोजगारलाई थप उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सुनसरीको चार स्थानीय तह सहित मुलुकभरका ३९ जिल्लाका १५६ स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित जनाएको छ ।
सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा रहेको कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो । यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको सामी कार्यक्रमका जिल्ला संयोजक भट्टराईले जानकारी दिनुभयो ।
सुरक्षीत आप्रवासन कार्यक्रम तेस्रो चरण अन्तर्गत इनरुवा नगरपालिका कार्यालयको आयोजनामा भएको प्रहरीसंगको अन्तरकृया कार्यक्रममा प्रहरी नायब उपरीक्षक राज कुमार राई र प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले वैदेशिक रोजगार सम्बन्धि नयाँ संसोधित कानुनका बिषयमा जानकारी गराउनुभएको सहभागी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिनुभयो । कार्यक्रममा गोरखापत्र दैनिकका जयकृष्ण यादव लगायत सुनसरी जिल्लाका विभिन्न स्थानबाट ३० जना प्रहरीहरुको उपस्थित रहेको थियो ।








