खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो ।हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ र कक्षा ५ पठनपाठन हुँदै आएको भवनको छाना उडाएको प्रधानाध्यापक देवेन्द्र श्रेष्ठले बताए । ‘दिनभर विद्यालय सञ्चालन गरिएको थियो । साँझ वर्षासँगै आएको हावाहुरीले छाना उडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क, बेञ्चलगायतका सामान भिजेको छ’, उनले भने, ‘हावाहुरीले विद्यालयको जस्तापाताको छाना उडाएर पाखामा पुर्‍याउँदा ठूलो क्षति भएको छ । हावाहुरीको क्षतिका कारण तत्काल पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन ।’विसं २०२३ जेठ २ गते स्थापना भएको सो विद्यालयमा गत वर्षको वैशाख ६ गते आएको हावाहुरीले पनि क्षति पु¥याएको थियो ।

बिहीबारको हावाहुरीले पुर्याएको क्षतिको विवरण सङ्कलन तथा विद्यालय सञ्चालनका लागि उपाय खोज्न गाउँपालिकाको कार्यालय र प्रहरी चौकी बतासेको टोली घटनास्थलमा बोलाइएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।हावाहुरीले बिम तथा गारोसहित छाना उडाएपछि एक सय ५० विद्यार्थी अध्ययनरत सो विद्यालयको पठनपाठन अन्योलमा छ । हावाहुरीले क्षति पुर्याएको भवनमा केही दिनभित्रै छाना हालेर नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर राईले बताए ।बर्सेनि हावाहुरीले क्षति गर्दै आएको सो विद्यालयमा अधिकांश पुरानो संरचनाका भवन रहेकाले कुनै बेला मानवीय क्षतिसमेत हुनसक्ने सम्भावना रहेको अभिभावकले बताएका छन् । बाह्रै महिना हावाहुरी चलिरहने डाँडामा सञ्चालित विद्यालय नजिकै ठूलो पिपलको रुख समेत रहेकाले दुर्घटनाको जोखिम बढेको जनाइएको छ ।दश स्थानीय तह रहेको जिल्लामा गए राति चलेको हावाहुरीले अन्य ठाउँमा समेत क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लामा भएको हावाहुरीको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । हावाहुरीले फलफूल, पाक्न लागेको गहुँ, तरकारी बालीलगायतमा क्षति गरेको किसानले बताएका छन् । व्यावसायिक तरकारी खेती गर्ने किसानको टनेललगायतका संरचनामा समेत क्षति गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia