केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ। अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन। विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो। भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परिनिती चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो।
त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृङ्खलासमेत आउन थालेका छन्। केही समयअगाडि मात्र काठमाडौँमा भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन भयो। सोही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृङ्खला काठमाडौँदेखि पोखरासम्म छायाङ्कन गरे।
नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन संयोजक अरुण रेग्मीले बताए। ‘विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाएँ। उनीहरूको काम गर्ने शैली परिपक्व छ। ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ’, संयोजक रेग्मीले भने।
उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृङ्खलासँगै फर्जी, उचाइलाई नेपालमा छायाङ्कन व्यवस्थापनको काम गरिसकेको छ। चलचित्र छायाङ्कनका क्रममा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सनले मिलाउने गर्छन्।
शुक्रबार मात्र बलिउड अभिनेता सनी देओलको अभिनय रहने चलचित्रको छायाङ्कनका लागि स्थल छनोट गर्न आएको टोलीले मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्र घुमघाम गरेर फर्किएको छ। व्यवस्थापक आचार्यका अनुसार उक्त चलचित्रको छायाङ्कन आउँदो नोभेम्बर महिनामा गर्ने तयारी भइरहेको छ।
‘मुस्ताङमा छायाङ्कन गर्ने तय भएको छ। यहाँ बीस दिन छायाङ्कन गर्ने उहाँहरुको योजना छ। यसले नेपालको पर्यटन प्रवर्द्धनसँगै प्राविधिकलाई समेत टेवा पुग्छ’, उनले भने।
सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमार्फत नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य स्थल बनाउने उल्लेख गरेसँगै विदेशी चलचित्रकर्मीले सहजता महसुस गरे आउँदो समय राम्रो देखिएको अर्का व्यवस्थापक शङ्कर पाण्डेले बताए। ‘विशेषत: छायाङ्कनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए सङ्ख्या बढ्नेछ’, पाण्डेले भने।
चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा मात्रै नेपालमा ४५ भन्दा बढी विदेशी चलचित्र छायाङ्कन भएका छन्। पछिल्लो छ वर्षको तथ्याङ्क हेर्दा दुई सय ४३ को हाराहारीमा चलचित्र, वेभ शृङ्खला र वृत्तचित्र छायाङ्कन गरिएका छन्। उल्लेखित सङ्ख्या वृद्धि गर्न सरकारको तर्फबाट सहजता र कार्यविधि सहज बनाइनु आवश्यक रहेको चलचित्रकर्मी बताउँछन्।








