मोरङ । कोशी प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाको लागि तयार भएको आवासीय भवन निर्माण पूरा भइसकेता पनि सञ्चालनमा भने आउन सकेको छैनन् । पाँच करोडभन्दा बढी लागतमा तयार भएको मोरङ पथरीशनिश्चरेस्थित श्री पञ्चायत माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता आवासीय भवन प्रदेश सरकारको स्पष्ट कार्ययोजना बन्न नसक्दा सञ्चालनमा कठिनाइ देखिएको छ ।

अपाङ्गता अधिकार ऐन, २०७४ ले १० किसिमका अपाङ्गताहरूमा परिभाषित गरेको छ । अपाङ्गता बालबालिकालाई शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले कोशी प्रदेश सरकारमार्फत सङ्घीय सरकारको बजेटबाट उक्त बौद्धिक अपाङ्गता आवासीय भवन निर्माण भएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्कप्रसाद गौतमले बताए ।

उनका अनुसार प्रदेशभरिका १४ वटै जिल्लाका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाका लागि भवन निर्माण भएको हो । सङ्घीय सरकारबाट कुनै कार्यक्रम नआएको, प्रदेश सरकारले थप लगानी नगरेको र स्थानीय सरकार यस विषयमा अनभिज्ञ रहेकोले आवासीय भवन सञ्चालनमा कठिनाइ देखिएको एकाइ प्रमुख गौतम बताउँछन् ।

देशभरको तथ्याङ्कअनुसार तीन दशमलव पाँच प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् । तीमध्ये अपाङ्गता भएका धेरै छन् र तीमध्ये पनि बौद्धिक अपाङ्गता धेरै रहेका छन् । उक्त विद्यालयमा कोशी प्रदेशकै गौरवका रूपमा अपाङ्ग मैत्री वातावरणमा पठनपाठन गराउनु मुख्य योजना हो । बौद्धिक अपाङ्गता पठनपाठनसहित आवासको व्यवस्थापन, विभिन्न किसिमको फिजियोथेरापी सेवा सञ्चालन गर्ने मुख्य लक्ष्य रहेको भए पनि सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुन भने नसकेको शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख गौतमले बताए ।

प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि भवन निर्माण भएको उक्त पञ्चायत माध्यमिक विद्यालयमा हाल २२ जना बालबालिका बौद्धिक अपाङ्गता रहेका छन् । पञ्चायतमा जस्तै मोरङको विभिन्न सात स्थानका विद्यालयमा स्रोत कक्षाका रूपमा अपाङ्गता भएका विद्यार्थीहरूलाई पठनपाठन गराइराखिएको छ । विराटनगर उपमहानगरपालिकाभित्र रहेको विराट मावि र गोग्राह मावि, बेलबारी नगरपालिकास्थित कविर मावि, रतुवामाई नगरपालिकास्थित महेन्द्र मावि, सुन्दरहरैचा नगरपालिकास्थित सुकुना मावि, उर्लाबारी नगरपालिकास्थित सुनपकुवा मावि रहेका छन् ।

भौतिक संरचना निर्माणमा सङ्घीय सरकार र प्रदेश सरकारबीचको भूमिकालाई निरन्तरता दिँदै र आपसी समन्वय गर्दै बौद्धिक अपाङ्गता आवासीय कक्षा भवन सञ्चालन हुनेमा विश्वस्त रहेको सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका उपसचिव शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख फणिन्द्र खत्री बताउँछन् ।

उमेरको बृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्तिलाई बौद्धिक अपाङ्गता भएका व्यक्ति भनिन्छ । पञ्चायत माध्यमिक विद्यालयकी शिक्षिका मेनुका राईले चार वर्षदेखि अपाङ्गता भएका बालबालिकालाई अध्यापन गर्दै आएका छन् । ‘फरक फरक अवस्थामा अपाङ्गता भएका बालबालिकाको शारीरिक अवस्थालाई हेरेर क, ख, ग र घ गरेर वर्गमा छुट्याइन्छ’, उनी भन्छन्, ‘यस प्रकारका बालबालिका सङ्गीत रुचाउँछन्, अन्य क्रियाकलापमा रुचि नदेखाउने तर आफ्नै शैलीमा नाच्न, गाउन रुचाउँछन् ।’

सरकारले १८ वर्ष उमेर समूहका बालबालिकाका लागि मात्र विद्यालयमा स्रोत कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको भए पनि उक्त विद्यालयमा २८ वर्षसम्म उमेर समूहका रहेको उनले बताइन् । उनका अनुसार साथीहरूसँग बस्दै, खेल्दै र सिक्दै जाँदा उनीहरूमा निकै सुधार भएको पाइएको छ । यस प्रकारका बालबालिकालाई सामूहिकभन्दा व्यक्तिगत शिक्षण योजना गर्नुपर्ने शिक्षिका राईले बताइन् । करिब तीन वर्ष विषेश कक्षाको रूपमा रहेको स्रोत कक्षामा अध्ययन गरिरहेकी मेघी राई अन्य विद्यार्थीसँगै बसेर पढ्न सक्ने अवस्थामा पुगेको र हाल कक्षा ९ मा अध्ययन गरिरहेको उक्त माविका प्रधानध्यापक अर्जुन बुढाथोकीले बताए ।

उनका अनुसार २५ जनाको दरले ह्विल चेयरमा सजिलै बस्न मिल्ने अपाङ्गमैत्री आठ वटा आवासीय कोठा रहेको भवन प्रदेशभरिका बौद्धिक अपाङ्गता रहेका विद्यार्थीका लागि संचालनमा आउन अब अन्तिम चरणमा पुगेको छ । समुदायले साथ र सहयोग गर्नुपर्छ, प्रदेशभरिका पालिकाबाट बौद्धिक अपाङ्गता रहेका बालबालिका आएमा राज्यको निरन्तर सहयोगमा आवाससहितको पठनपाठन गराउन विद्यालय सफल हुने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष युवराज बाँस्कोटाले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia