इलाम । चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेको हो ।

विगतमा प्रतिमन (४० किलो) आठ हजार रुपैयाँमा बिक्री भएको चिराइतो अहिले घरैबाट प्रतिमन ५४ हजारमा बिक्री भइरहेको किसानले बताएका छन् । ‘विगतका वर्षमा हामीले चिराइतो प्रतिमन आठ हजारदेखि २५ हजारसम्ममा बिक्री गर्ने गथ्यौं । अहिले ५४ हजारमा बिक्री भइरहेको छ । यो दशकयताकै उच्च मूल्य हो’, सन्दकपुर गाउँपालिका–१ का किसान हेमकुमार राईले भने, ‘चिराइतोको मूल्य अप्रत्याशित रूपमा बढ्यो ।’

उनी कुनै समय एकै याममा ५० मनसम्म चिराइतो बिक्री गर्थे। मूल्य घटेपछि राईसँगै धेरैले व्यावसायिक चिराइतो खेती छाड्दै गएका थिए । अहिले मूल्य बढेपछि किसान पुनः उत्साहित भएका छन् । सन्दकपुर–३ का शिवकुमार राई भन्छन्, ‘१० रोपनी बारीमा चिराइतो खेती गरिरहेको छु । विगतमा बर्सेनि मूल्य घटेका कारण निराशा थियो । तर यस वर्ष बढेको छ । यसले म जस्ता किसान धेरै खुशी छौँ ।’

मूल्य बढेसँगै व्यवसायी चिराइतो संकलन गर्न गाउँ–गाउँमा पुग्न थालेका छन् । पहिले जस्तो आफैले बजार खोज्नुपर्ने बाध्यता किसानलाई छैन । ‘गत वर्ष मूल्य नआएका कारण धेरैको चिराइतो बिक्री भएको थिएन । तर अहिले व्यापारी किसानको घरमा पुगेर राम्रो मूल्यमा चिराइतो खरिद गरिरहेका छन्’, जडीबुटी व्यवसायी फुर्वा तामाङ भन्छन्, ‘यो मूल्य स्थिर रहिरहने हो भने यहाँका किसानले अरू काम नै गर्नु पर्दैन ।’ चिराइतो पाखा बारीमा बीउ लगाएपछि करिब ३० महिनापछि बिक्रीयोग्य हुन्छ । अन्य बाली लगाउनुभन्दा यसको आम्दानी तुलनात्मक रूपमा राम्रो हुने तामाङले बताए ।

पहिले पहिले जंगल र खेतबारीमा स्वतः उम्रने चिराइतो पछिल्लो समय किसानले व्यावसायिक खेती पनि गर्दै आएका छन् । समुद्र सतहबाट एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले जिल्लाका माथिल्लो भेगका अधिकांश किसानले चिराइतो खेती गरिरहेका छन् ।

इलामको सन्दकपुर गाउँपालिकाका माइपोखरी, सुलुबुङ, माबु, माइमझुवा, जमुना र इङ्ला तथा माइजोगमाई गाउँपालिकाका प्याङ र नयाँबजार एवं इलाम नगरपालिकाको पुवामझुवाको माथिल्लो भेगमा चिराइतोको व्यावसायिक खेती हुने गरेको छ । यहाँ उत्पादित चिराइतो भारत, चीन र बंगलादेश निर्यात हुने गरेको व्यवसायी तामाङको भनाइ छ । साउनदेखि कात्तिकसम्म फल्ने र असोजदेखि मंसिरमा पाक्ने यसको संकलन भने मंसिरपछि गरिन्छ । जरासँगै उखेलेपछि एक किलो जतिका ससाना मुठा बनाइने यसलाई हावा आवतजावत गर्न सकिने ठाउँमा भण्डारण गरिन्छ । भूगोल अनुसार चैतसम्म चिराइतोको संकलन हुन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia