काठमाडौं — सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार स्थगित भएको छ। कुल ६ प्रतिशतले बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार रोकिएको हो।
आजको कारोबारपछि नेप्से परिसूचक १६२ अंक (६ प्रतिशत)ले बढेर २,८७५ विन्दुमा पुगेको छ। आज कुल ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
देशभर चुनावपछि मतपरिणाम आउने क्रम जारी रहेको छ। हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ नजिक पुगेको खबरले लगानीकर्तामा विश्वास बढ्दा त्यसको प्रभाव सेयर बजारमा देखिएको विश्लेषण गरिएको छ।
कारोबार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो। २० मिनेट स्थगितपछि खुलेको बजारमा फेरि एक मिनेटमै दोस्रो सर्किट ब्रेक लाग्यो। त्यसपछि ४० मिनेटका लागि कारोबार रोकिएपछि पुनः खुलेको बजारमा एक मिनेट नपुग्दै तेस्रो सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार स्थगित गरिएको हो।
आज २५२ कम्पनीको सेयर मूल्य बढेको छ भने एक मात्र कम्पनी रिलायन्स स्पिनिङ मिल्सको मूल्य घटेको छ।
क्षेत्रगत रूपमा बैंकिङ ६.९२ प्रतिशत, विकास बैंक ५.९१ प्रतिशत, फाइनान्स ५.४७ प्रतिशत, होटल तथा पर्यटन ५.७३ प्रतिशत, हाइड्रोपावर ६.८१ प्रतिशत, लगानी ७.०६ प्रतिशत, जीवन बीमा ४.६७ प्रतिशत, उत्पादन तथा प्रशोधन ५.३० प्रतिशत, माइक्रोफाइनान्स ४.०७ प्रतिशत, निर्जीवन बीमा ३.७४ प्रतिशत, अन्य ५.५६ प्रतिशत तथा व्यापार ७.७३ प्रतिशतले वृद्धि भएको छ।
आज एक दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशत (९.९० प्रतिशतभन्दा बढी)ले बढेको छ। ती कम्पनीहरूमा कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, सिटी होटल, निफ्रा, नेपाल बैंक, बलेफी हाइड्रोपावर, माथिल्लो तामाकोशी, शुभम् पावर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमस्टार ऊर्जा र हिमाल दोलखा हाइड्रोपावर रहेका छन्।
आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा नारायणी डेभलपमेन्ट, शिवम् सिमेन्ट, एसवाई प्यानल, ङादी ग्रुप र राधि विद्युत् अगाडि रहेका छन्।








